भोजपुर । भोजपुरको षडानन्द नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक सुधारका गतिविधिलाई तीव्रता दिएको छ । विद्यालयहरुमा देखिएका समस्याको पहिचान र निराकरणका लागि अनुगमन तथा मूल्याङ्कनमा जोड दिइएको छ ।
विगतमा पालिकाले कक्षा ५ र ८ को परीक्षा पालिकास्तरबाट सञ्चालन गरेर नतिजा परीक्षणका लागि विद्यालयलाई पठाउने गरेकोमा अहिले सबै शिक्षकको उपस्थितिमा एकै ठाउँमा परीक्षण गर्ने व्यवस्था मिलाइएको छ । प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद चापागाईंका अनुसार भावी सुधारका कार्यक्रमलाई थप व्यवस्थित गराउने योजना छ ।
सबै सामुदायिक विद्यालयमा एकैपटक शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको चापागाईंले बताए । परीक्षा पद्धतिमा एकरुपता ल्याउने, कक्षा १ देखि ३ सम्म स्थानीय पाठ्यक्रम लागू गर्ने र कक्षा ४ देखि ८ सम्मको पाठ्यक्रम निर्माण गर्ने प्रयास भइरहेको छ ।
शिक्षकहरुको मनोबल उच्च राख्न समस्या पहिचान गरी तालिम र प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने छ भने बालबालिकाको सिकाइ उपलब्धि बृद्धिका लागि पठनपाठन शैलीमा समेत सुधार गरिने भएको छ ।
नगरप्रमुख सुरेन्द्रकुमार उदासले ७० विद्यालयको स्थलगत अनुगमन गरी आवश्यक सुधारको प्रक्रिया अघि बढाइएको बताए । सामुदायिक विद्यालयमा लगानी अनुसारको प्रतिफल नदेखिएपछि शैक्षिक सुधार अभियान सुरु गरिएको हो । नगरपालिका, शिक्षक र अभिभावकको सक्रियता बढाएर गुणस्तरमा सुधार ल्याउने पहल थालिएको छ ।
नगरपालिका उपप्रमुख प्रमिला राईका अनुसार योजनाबद्ध रुपमा शैक्षिक सुधारका लागि काम भइरहेको छ । भावी दिनमा शैक्षिक सुधारका कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्य छ । समयसापेक्ष गुणस्तरीय शिक्षाका लागि आवश्यक पहल भइरहेको उनले बताइन् ।