Tuesday, December 3, 2024
देशकोशी प्रदेशटेम्केमैयुङको महभिर झरना संरक्षण गर्न स्थानीय सरकार लाग्दै

टेम्केमैयुङको महभिर झरना संरक्षण गर्न स्थानीय सरकार लाग्दै

भोजपुर | भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ४ मा अवस्थित महाभीर झरना पर्यटकीय गन्तव्य बनाउन स्थानीय सरकार लागिपरेको छ ।

भोजपुर सदरमुकामबाट करिब २९ किलोमिटर र गाउँपालिका केन्द्रबाट करिब साढे चार किलोमिटर पश्चिममा अवस्थित यो झरनामा बाह्रै महिना पानी उस्तै मात्रामा बग्ने गर्दछ । गाउँपालिकाले विकास तथा संरक्षणमा ध्यान दिएसँगै यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि हुन थालेको छ । झरना मुख्य राजमार्गबाट करिब साढे दुई किलोमिटरभित्र रहेको छ ।

झरनामा आउने पर्यटकहरूलाई नुहाउन साथै शौचालय प्रयोग गर्न टेम्केमैयुङ गाउँपालिका र वडा कार्यालयले मिलेर शौचालय र कपडा फेर्ने ठाउँ बनाउने भएको टेम्केमैयुङ वडा नम्बर ४ का वडा अध्यक्ष हर्कराज राईले बताए ।

विगतमा भिरमौरी बस्ने भएकाले यो झरनाको नाम नै महाभीर झरना रहेको स्थानीय संगम राईले बताए ।

गाउँपालिकाको पर्यटकीय केन्द्र महाभीर झरनालाई आवश्यक संरचना निर्माण गरेर गाउँपालिकाभरिका पर्यटकीय स्थलहरूबाट आम्दानी बढाउन गाउँपालिका लागिपरेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन् ।

झरनाबाट झरेको पानीको फोहोराले पर्यटकहरूलाई मनै लोभ्याउने गरेको छ । खासगरी गर्मीको समयमा बढी मानिसहरू झरनाको मज्जा लिन आउने गरेका छन् । भदौ, असोज र कात्तिक महिनामा दिनहुँ १ सय देखि १ सय ५० जनासम्म पर्यटक आउने गरेका छन् । विगतका वर्षहरूभन्दा अहिले सडक निर्माण भएर आवागमन सजिलो भएकाले वर्षाको समयमा पनि पर्यटक आउने गरेका स्थानीय मित्रहाङ राईले बताए ।

गाउँपालिकाले यहाँ पुग्ने बाटोको विस्तार गरेसँगै झरना वरिपरि पर्यटकहरूलाई लक्षित गरी आवश्यक संरचना निर्माणको काम गरिएको गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताए ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img