Friday, January 17, 2025
देशकोशी प्रदेशसिलिचुङ चुचुरोमा सुम्निमा–पारुहाङ र साल्पा पोखरीमा नछुङको प्रतिमा स्थापना

सिलिचुङ चुचुरोमा सुम्निमा–पारुहाङ र साल्पा पोखरीमा नछुङको प्रतिमा स्थापना

भोजपुर | सृष्टिको उत्पत्ति केन्द्र, मुन्दुमको प्राण, साल्पा–सिलिचुङ क्षेत्र तथा पर्यटकीय स्थल सिलिचुङमा किराँती पुर्खा ‘सुम्निमा–पारुहाङ’ को प्रतिमा स्थापना गरिएको छ । साथै साल्पा पोखरी छेउमा नछुङ (धामी)को प्रतिमा स्थापना गरिएको छ ।

खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बुको सिमानामा रहेको सिचिलुङमा सुम्निमा र पारुहाङ तथा साल्पा पोखरीमा नछुङको प्रतिमासमेत स्थापना गरिएको छ ।

साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तर्राष्ट्रिय समितिको आयोजना र साल्पा सिलिछो गाउँपालिकाको संरक्षण तथा सह–आयोजनामा यही २०८० वैशाख ७ गते बिहान साँढे ६ बजे ‘सुम्निमा–पारुहाङ’ को प्रतिमा र बिहान करिब ११ बजे नछुङ (धामी) को प्रतिमा अनावरण गरिएको थियो ।

किरात समुदायको सांस्कृतिक स्थल मानिने साल्पा सिलिचुङमा देश विदेशबाट सङ्कलित रकमबाट सुम्निमा पारुहाङ र नछुङको प्रतिमा निर्माण गरिएको आयोजक साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तर्राष्ट्रिय समितिले जनाएको छ ।

प्रतिमाको अनावरण प्रमुख अतिथि निवर्तमान पर्यटनमन्त्री सुदन किराँती र आयोजक साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तर्राष्ट्रिय समितिका अध्यक्ष राजेन खिम्बुले राईले गरेका हुन् ।

साल्पा सिलिचुङ किरातीको मुन्दुमी तथा सांस्कृतिक स्थल भएकाले संरक्षण र प्रवर्द्धन गर्न प्रतिमा स्थापना गरिएको समितिका अध्यक्ष राजेन खिम्बुले राईले बताए ।

प्रतिमा स्थापना कार्यक्रमका लागि यही वैशाख ५ गते सरोकारवाला साल्पा सिलिचुङ पुगेका थिए । मुन्दुमविद तथा धामी–झाँक्रीको टोलीले वैशाख ६ र ७ गते वृहत कार्यक्रम गरेर प्रतिमा स्थापना गरेका हुन् ।

सृष्टिको उत्पत्ति केन्द्र मुन्दुमको प्राण, साल्पा–सिलिचुङ संरक्षण हाम्रो अभियान’ भन्ने नाराका साथ सुरु गरिएको अभियानमा नेपालसहित बेलायत, हङकङ, कोरिया, अमेरिका, अस्ट्रेलिया, जापान, इजरायललगायत विश्वभर रहेका नेपाली जोडिएका छन् ।

कार्यक्रममा साल्पा सिलिछो गाउँपालिकाका अध्यक्ष दौलथ कुलुङ, युनाइटेड मंगोल अर्गनाइजेसन अमेरिकाका सल्लाहकार सुरेश चाम्लिङ राई, किरात राई यायोक्खा युके अध्यक्ष योगेश कोयी राई, किरात राई यायोक्खा केन्द्रिय सदस्य किवाङहाङ राई, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान कुलपती नारदमणी हार्ताम्छाली, खोटाङ जिल्ला समन्वय समितिका संयोजक सन बहादुर राई तथा संस्कृति विद चतुरभक्त राईले आ–आफ्नो धारणा राखेका थिए ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img