कोशी | ताप्लेजुङस्थित पाथिभरा केबलकार निर्माणको विरोधमा जारी आन्दोलन फिर्ता लिइएको छ। केबलकार निर्माण कार्य स्थगन गर्नुपर्ने मागसहित आन्दोलनरत पक्षले यातायात बन्दलगायतका विभिन्न विरोधका कार्यक्रम सञ्चालन गर्दै आएको थियो। तर, मंगलबार गृह मन्त्रालयबाट गठित वार्ता टोली र ‘नो केबलकार समूह’ का प्रतिनिधिहरूबीच भएको छलफलपछि आन्दोलनका कार्यक्रम स्थगित गर्ने सहमति जुटेको हो।
वार्तापछि केबलकार स्टेसनमाथिको निर्माण कार्य तत्काल स्थगित गर्ने र स्टेसनको सन्दर्भमा माघ २७ गते हुने वार्तामा विस्तृत छलफल गर्ने सहमति भएको छ। त्यसैगरी, सरकारले घोषणा गरेअनुसार आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क तथा प्रभावकारी उपचार गरिने निर्णय भएको छ।
माघ १२ गते भएको घटनाका सम्बन्धमा छानबिन गरी कानुनी प्रक्रिया अघि बढाइने सहमति भएको छ भने आन्दोलनका क्रममा पक्राउ परेका व्यक्तिहरूलाई बिना शर्त रिहा गर्ने प्रक्रिया अघि बढाइने भएको छ। मुक्कुमलुङ संरक्षक पक्षले अनिश्चितकालीन यातायात बन्द फिर्ता लिने सहमति पनि गरेको छ।
यसैबीच, वार्तामा सहभागी भएका मुक्कुमलुङ संरक्षक पक्षधरहरूले केबलकार आयोजना निर्माणमा असहमति जनाउँदै उठाएका विषयहरूबारे विस्तृत छलफल गर्न माघ २७ गते बिहान ११ बजे अर्को वार्ता बस्ने निर्णय गरिएको छ। पछिल्लो सहमतिपछि यातायात पुनः सञ्चालनमा आएको छ भने निर्माणसम्बन्धी विवाद समाधानका लागि छलफलको वातावरण तयार भएको छ।