समाजफाल्गुन ४ देखि पदमपोखरीमा सांस्कृतिक महोत्सव हुने

फाल्गुन ४ देखि पदमपोखरीमा सांस्कृतिक महोत्सव हुने

हेटौँडा |  हेटौंडा उपमहानगरपालिका वडा नं. १३, पदमपोखरीस्थित लोकतान्त्रिक चोकमा पहिलो पटक सांस्कृतिक महोत्सव आयोजना हुने भएको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमा महोत्सव मूल समारोह समितिले आउँदो फाल्गुन ४, ५, र ६ गते तीन दिने महोत्सव आयोजना गर्न लागेको जानकारी गराएको हो।

“संस्कार, संस्कृति, कला र साहित्यको जगेर्ना गरौं, स्थानीय व्यापार र कृषि उपज उत्पादनलाई प्रवर्द्धन गरौं” भन्ने नाराका साथ महोत्सव आयोजना गर्न लागिएको महोत्सव समारोह समितिका संयोजक रञ्जु गोम्जाले जानकारी दिईन् । पदमपोखरीको पहिचानलाई प्रवर्द्धन गर्दै आन्तरिक पर्यटनलाई टेवा पुर्‍याउने उद्देश्यले महोत्सव आयोजना गरिएको उनको भनाइ थियो ।

वडा अध्यक्ष पेम्बा लामाका अनुसार महोत्सवले स्थानीय व्यापार, कृषि उत्पादन र बजारीकरणको अवधारणालाई विकास गर्दै वडावासीको आर्थिक स्थितिलाई उकास्न मद्दत गर्नेछ। महोत्सवमा स्थानीय परम्परागत उपभोग्य कृषि उपज, आधुनिक सीपयुक्त उत्पादन, बाँसजन्य सामग्री, तथा विभिन्न परिकारका खानाका ८० वटा स्टल रहने छन्। साथै, मदिराजन्य पदार्थको बिक्रीमा विशेष रोक लगाइने आयोजकले जनाएको छ।

महोत्सवमा नेपालका मौलिकता झल्काउने राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहनेछ। कलाकार संयोजक धिरेन लोप्चनका अनुसार रोज मोक्तान, प्रीति आले, टिका बोम्जन, प्रकाश तितुङ, साम्तेन मोक्तान, विक्रम लुङ्वा लगायतका कलाकारले सांगीतिक प्रस्तुति दिनेछन्। साथै, स्थानीय कलाकारहरूले संस्कृति झल्काउने नृत्य प्रस्तुति गर्नेछन्।

महोत्सव सम्पन्न गर्न करिब १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। हेटौंडा उपमहानगरपालिकाका अन्य १८ वडाबाट दर्शकहरू महोत्सव अवलोकन गर्न आउने अपेक्षा गरिएको छ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img