Saturday, February 15, 2025
समाजहेटौँडा उपमहानगरपालिका-१४ बालमैत्री वडा घोषणा हुने

हेटौँडा उपमहानगरपालिका-१४ बालमैत्री वडा घोषणा हुने

हेटौँडा | हेटौँडा उपमहानगरपालिका वडा नम्बर १४ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने भएको छ। ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने नारासहित माघ २५ गते वडा घोषणा गर्न लागिएको हो।

यसअघि हेटौँडा उपमहानगरपालिकाका १९ मध्ये १८ वटा वडा निकृष्ट बालश्रम मुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भइसकेका छन्। अब वडा नम्बर १४ पनि आवश्यक सबै सूचकहरू पूरा गरी बालमैत्री वडा घोषणा हुन लागेको वडा अध्यक्ष दिपक खड्काले जानकारी दिए।

वडा १४ ले २०७९ भदौ ५ गते सरोकारवालाहरूको उपस्थितिमा बालमैत्री स्थानीय शासन अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएको थियो। त्यसपछि २०७९ भदौ २४ गते नगर कार्यपालिकाको निर्णयअनुसार औपचारिक रूपमा अभियान सुरु गरिएको थियो।

बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ मा उल्लेख भएका ५१ वटा सूचकहरूमध्ये ४६ वटा सूचक सत प्रतिशत पूरा भएका छन् भने बाँकी सूचकहरू ७६ प्रतिशतदेखि ९८ प्रतिशतसम्म पूरा भएको खड्काले जानकारी दिए।

बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता सुनिश्चित गर्दै वडाले विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको छ। पूर्ण खोप अभियान, स्वास्थ्य शिक्षा, पोषिलो खाना व्यवस्थापन, हात धुने प्रवर्द्धन, एचआईभी/एड्स तथा अन्य सरुवा रोगसम्बन्धी सचेतना कार्यक्रम, कमजोर आर्थिक अवस्थाका बालबालिकालाई निःशुल्क स्वास्थ्य बीमा, विद्यालयमा सेनेटरी प्याड वितरण तथा महिला स्वास्थ्यसम्बन्धी कार्यक्रम जस्ता अभियानहरू सञ्चालन भएको खड्काले बताए ।

वडाले २०७३ सालमै पूर्ण साक्षर वडा, २०६७ सालमा खुला दिसामुक्त वडा, २०८० सालमा पूर्ण खोप वडा घोषणा गरिसकेको छ। अब बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्दै पाँच वर्षे रणनीतिक योजना तयार पारिएको छ।

बालबालिका मैत्री शासन प्रणाली कार्यान्वयनमा उत्कृष्ट उदाहरणका रूपमा वडा १४ स्थापित हुन लागेको वडा अध्यक्ष खड्काले बताए। घोषणासँगै बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण, सुरक्षा, र विकासमा अझ प्रभावकारी कार्यक्रम ल्याइने वडा कार्यालयले जनाएको छ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img