काठमाडौ । दिनहुँ अनुगमनमा निस्कने गरेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले पनि संक्रमित भएका छन् । उनलाई कोभिड संक्रमण पुष्टि भएको छ । मन्त्री आले दिनहुँ सार्वजनिक कार्यक्रममा सक्रिय भएका छन् । आइतवार मात्र उनी वतास समुहले म्यानेज गरेको पशुपतिनाथ मन्दिर क्षेत्रमा संचालित धर्मशाला निरिक्षणमा गएका थिए ।
उनलाई कोभिड संक्रमण भएको उनको सचिवालयले पुष्टि गरेको छ । सोमवार जानकारी दिँदै मन्त्री आलेको सचिवालयले उनलाई कोरोना संक्रमण भएको जनाएको हो । यसैगरी मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि संक्रमण भएको छ । मन्त्री आलेको सचिवालयले केहीदिनयता आफूहरुको सम्पर्कमा आएका सबै जनालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
यो पनि, मुलुकमा सँक्रमण बढेपछि सरकारले फेरी सिनेमा हल बन्द गरेको छ । कोभिडको तेस्रो लहर रोकथाम र नियन्त्रणका लागि सिनेमा हल पुन बन्द गर्नु परेको सरकारले जनाएको छ । आईतबारबाटै सरकारले दोहोरी साँझ, नाईट क्लब, पब पनि बन्द गरेको छ ।
अहिलेलाई १५ माघसम्म मुलुकका सिनेमा हल बन्द गरिएको हो । सिसिएमसीको सिफारिस बमोजिम आइतवार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । मन्त्री परिषदको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आईतबारबाट १५ माघसम्म मुलुकका सिनेमा हलहरु सञ्चालन गर्न नपाउने निर्णय भएको जानकारी सञ्चारकर्मीलाई गराए ।
गत बैशाखबाट दोश्रो चरणको कोभिडका कारण बन्द भएको मुलुकका सिनेमा हल गएको तिहारबाट खुलेको थियो । तर यतीबेला फेरी तेश्रो लहरको कोभिड महामारी बढेपछि सिनेमा हल बन्द गर्नु परेको सञ्चार मन्त्री कार्कीको भनाई छ ।
कोभिड कालमा यो सहित नेपालमा तीन पटक सिनेमा हलहरु बन्द भएका छन् । यस अघि २०७६ चैतबाट २०७७ पुषसम्म पहिलो चरणको सिनेमा हल बन्द भएको थियो । यसरी पहिलो लहरको कोभिड सँक्रमणको समय मुलुकका सिनेमा हल ९ महिना बन्द भएका थिए । २०७७ पुषबाट हल सञ्चालकहरुले नै ज ब र जस्ती खोलेपछि सिनेका हललाई सञ्चालनको अनुमति सरकारले त्यतिबेला दिएको थियो । तर मुलुकमा फेरी कोरोनाको दोश्रो लहर गत बैशाखमा आयो । बैशाखको दोश्रो साताबाट गत असोजको दोश्रो सातासम्म मुलुकका सिनेमा हलहरु बन्द भए ।