काठमाडौ । आर्थिक रुपमा विपन्न र पारिवारिक माया नपाएकाहरु गलत बाटोमा लागेको उदाहरण धेरै देखेका छौं । आर्थिक रुपमा सम्पन्न र उच्च तहमा पहुँच रहेका एक इन्जिनियर पनि त्यस्तो काममा संलग्न होलान् भन्ने अनुमान कमैले लगाइन्छ । सुरुमा प्रहरीलाई पनि यस्तै समस्या पर्यो । एक जना इन्जिनियरलाई चोरी गरेको अभियोगमा जब प्रहरीमा निवेदन पर्यो ।
पेशाले इन्जिनियर रहेका ३५ वर्षका वासुदेव पुडासैनीका बारेमा प्रहरीको अनुमान फेल खाएको थियो । उनको सम्बन्ध प्रहरीकै केही उच्च अधिकारीदेखि बहालवाला न्यायाधीशसम्म थियो । उनले धेरै भवन निर्माणको कामको डिजाइन पनि गरेका थिए । प्रहरी अधिकारीदेखि न्यायाधीसमम्मको घरको डिजाइन बनाउँदा उनीहरूको सम्बन्ध बनाएका थिए ।
त्यसैले पनि उनलाई चोरीमा संलग्न होलान् भन्ने प्रहरीले अनुमान गर्न सकेन । उनलाई महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठको टोलीले सोमबार साँझ पक्राउ गरेको छ । विभिन्न व्याक्तिले चोरीको उजुरी दिएपछि पुडासैनीमाथि प्रहरीले अनुसन्धान थालेको थियो । प्रहरीले आरोप पुष्टि हुने प्रमाण फेला पारेपछि पुडासैनीलाई पक्राउ गरेको हो । उनले एउटाको सामान अर्कैलाई दिएको खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पुडासैनीले विभिन्न व्याक्तिको घर बनाउन प्रयोग हुने सिमिन्टदेखि फलामका डण्डी चोरी गर्ने गरेको खुलेको छ । उनले बूढानीलकण्ठ क्षेत्रका करिब दर्जनौँ निर्माणाधीन घरका निर्माण सामग्री चोरी गरेको खुलेको छ । पुडासैनी हिरोज कम्पनीको सञ्चालक तथा घरजग्गा किनबेच कम्पनीको सीईओसमेत हुन् । गोल्फुटार बस्ने पुडासैनी दिनभर आफ्नै निजी कारमा निर्माणाधीन घरमा घुम्मे र राति भाडाको गाडी प्रयोग गरेर चोरी गर्ने गरेको पाइएको छ ।