काठमाडाैं | पूर्व सञ्चारकर्मी रवि लामिछानेको नेतृत्वमा प्रस्तावित राष्ट्रिय स्वतन्त्र पार्टीले घण्ट चुनाव चिह्न नपाउने भएको छ ।
असार ७ गते लामिछानेले आफ्नै संयोजकत्वमा २१ सदस्यीय पदाधिकारी रहेको विधानसहित राष्ट्रिय स्वतन्त्र पार्टी नेपाललाई दलका रूपमा दर्ता गरी पाऊँ भन्दै निवेदन दर्ता गराएका छन् ।
पार्टीको चुनाव चिह्न ‘घण्ट’ पाउनुपर्ने माग गरिए पनि उक्त चिह्न नपाउने पक्कापक्की भएको छ । निर्वाचन आयोगले ‘घण्ट’ चिह्न फ्रिज गरेको १ वर्ष समय नपुगेका कारण लामिछानेले नपाउने भएका हुन् ।
यसअघि २०७३ मंसिर ३० गते दर्ता भएको राष्ट्रवादी पार्टीले ‘घण्ट’ छाप पाएको थियो । उक्त दलका संयोजक सहजाद मियाँ मिकरानी थिए । उक्त पार्टी २०७८ मंसिर ३० गते नेपाल सद्भावना पार्टीमा गाभिएको छ । निर्वाचन आयोगको अभिलेखअनुसार रामकुमार महतो अध्यक्ष रहेको तथा पञ्जा छाप चुनाव चिह्न भएको नेपाल सद्भावना पार्टीमा राष्ट्रवादी पार्टी २०७३ मंसिर ३० गते गाभिएको थियो ।
उक्त दल गाभिएको १ वर्ष पूरा नभएका कारण रवि लामिछानेले दर्ता गराउने दलले ‘घण्ट’ चिह्न नपाउने लगभग निश्चित भएको निर्वाचन आयोगका एक कर्मचारीले बताए । राजनीतिक दलसम्बन्धी ऐन,२०७३ को दफा ७ मा भएको प्रावधानअनुसार लामिछानेले घण्ट चिह्न नपाउने भएका हुन् ।
ऐनमा भनिएको छ– दल एकीकरण भएको वा गाभिएकोमा एकीकरण हुनु वा गाभिनुअघि त्यस्ता दलले प्रयोग गरेको नाम, झण्डा वा चिह्न एकीकरण भएको वा गाभिएको मितिले १ वर्षसम्म कसैले पनि प्रयोग गर्न सक्ने छैन ।
ऐनको उक्त प्रावधानका कारण नै लामिछानेले माग गरेको चुनाव चिह्न ‘घण्ट’ नपाउने निर्वाचन आयोगको राजनीतिक दलसम्बन्धी शाखाका ती कर्मचारीले बताए ।