काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ र प्रधानमन्त्री शेरबहादुर देउवालगायतका शीर्षस्थ नेताहरुले इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अज्हा (बकर ईद) को शुभकामना दिएका छन् ।
छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै उनीहरूले मुस्लिम धर्मावलम्बीहरूको सुख, शान्ति तथा समृद्धिको कामना गरेका हुन् ।
राष्ट्रपति भण्डारीले मुस्लिम समुदायको ठूलो चाडको रूपमा रहेको इद उल अज्हा (बकर इद) संयमता, धैर्यता, विश्व शान्ति र भाइचाराको सन्देश दिने चाड भएकाले यो पर्व एक आपसमा खुसी, सद्भाव तथा शुभकामना आदानप्रदान गरी मनाउन आग्रह गरेकी छन् ।
यस्तै, उपराष्ट्रपति पुनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहु सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषताले भरिपूर्ण मुलुक भएको भन्दै विभिन्न समुदायका चाडवाड, रीतिरिवाज र धर्म संस्कृतिले आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई बलियो बनाउँदै आएको बताएका छन् ।
भाइचारा र पारिवारिक मिलनको रूपमा मनाइने इस्लाम धर्मवलम्बीहरूको महान् पर्व इद-अल-अधाले राष्ट्र निर्माण, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी मित्रतालाई सुदृढ गर्ने विश्वास उपराष्ट्रपति पुनको छ ।
यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद उल अज्हा (बकर इद को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गरेका छन्।
उनले शुभकामना सन्देशमार्फत यस पर्वले सबै नेपालीलाई आफ्नो मौलिक परम्परा र संस्कृतिको संरक्षण, संवर्द्धन र विकास गर्दै सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भनी शुभकामना दिएका छन्। बकर इद धैर्यता, विश्व शान्ति र भाइचाराको सन्देश दिने पर्व भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले यस पर्वले एक आपसमा खुसी र सद्भाव बढाउने विश्वास व्यक्त गरेका छन्।
यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनकारी वाम(लोकतान्त्रिक शक्ति एकीकृत र केन्द्रीकृत हुन जरुरी रहेको बताएका छन्।
प्रचण्डले मुलुकको राष्ट्रिय स्वाधीनताका लागि जनयुद्ध र जनआन्दोलनका बलमा हासिल भएका उपलब्धिहरूको रक्षा गर्दै वैज्ञानिक समाजवादको यात्रातिर देशलाई डोर्याउन परिवर्तनकारी वाम(लोकतान्त्रिक शक्तिहरू एकीकृत र केन्द्रीकृत हुन जरुरी रहेको बताएका हुन्।
‘यस पर्वले सम्पूर्ण नेपाली जनसमुदायमा सामाजिक सहिष्णुताको भावना विकास गरी समुन्नत नेपाल निर्माणका लागि अग्रसर हुन प्रेरित गरोस् भन्दै हार्दिक शुभकामना व्यक्त गर्दछु’, उनले भनेका छन्।
इस्लाम धर्मावलम्बीहरूको यस पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी मित्रतालाई प्रगाढ बनाई राष्ट्र निर्माण र राष्ट्रिय एकता सुदृढ गर्ने विश्वास प्रचण्डले लिएका छन्।