सुनसरी / तराईमा बढेको अत्याधिक गर्मीका कारण धनकुटाको भेडेटार र त्यहाँ रहेको नमस्ते झरनामा घुम्न जानेको सङ्ख्या बढेको छ । धनकुटाको साँगुरीगढी गाउँपालिका- ६ मा रहेको नमस्ते झरनामा यति बेला एक हजार बढी आगन्तुक पर्यटक आउन थालेका छन् ।
धरानबाट १७ किमी उकालो चढे पछि पुगिने पर्यटकीय गन्तव्य भेडेटारबाट धरान–धनकुटा सडक हुँदै केही तल झरे पछि झरनास्थल पुगिन्छ । यता, भारतका ८० प्रतिशत बाह्य पर्यटक हुन्छन् ।
केही समयदेखि तराईमा बढेको गर्मीका कारण पुर्वी तराईका मात्र हैन नेपालका विभिन्न जिल्ला र भारतबाट समेत भेडेटारको चिसो हावापानीमा दृश्यलोकन सँग नजिकै रहेको नमस्ते झर्नामा पौडी खेल्ने र डुबुल्की मार्नेहरूको संख्यामा अत्यधिक बढेको छ ।
सुनसरी , मोरङ, झापा, सप्तरी, सिराहा, धनुषा, रौतहट, महोत्तरी सर्लाही लगायत जिल्लाका धेरै पर्यटक आइ पुग्ने गरेको सिम्सुवा नमस्ते झरना संरक्षण तथा सरसफाइ व्यवस्थापन समितिका अध्यक्ष दिलीप लिम्बू बताए ।
सार्वजनिक विदा शनिबारका दिन र शुक्रबारदेखि आइतबारसम्म अत्यधिक चाप हुने गरेको सिम्सुवा नमस्ते झरना संरक्षण समितिका सल्लाहाकार अग्नि लिम्बूले बताए । लिम्बूले भने, ‘पूर्वाधारमा अझ व्यवस्थापन गर्ने सोच रहेकाले भविष्यमा पर्यटक बढ्न सक्ने आशा रहेको बताए ।´