काठमाडौं: सप्तरीमा करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको मृत्यु भएको छ । जिल्लाको कञ्चनरूप नगरपालिकामा करेन्ट लागेर दुई र राजगढ गाउँपालिकामा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कञ्चनरूप–६ का ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अञ्जली सरदार छन् । उनीहरू ससुरा–बुहारी हुन् । इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रामकुमार यादवका अनुसार सात महिनाकी गर्भवती अञ्जली आफ्नै आँगनमा मोटर जडान गरिएको ट्युबेलमा पानी लिन जाँदा करेन्ट लागेको हो ।
अचेत भएकी बुहारीलाई छुटाउन गएका सौदानन्दलाई समेत करेन्ट लागेको थियो । दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको यादवले बताए।
यस्तै, सप्तरीकै राजगढ गाउँपालिका–२ कमलपुरमा ५६ वर्षीय शिवशङ्कर साहको समेत करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरको आँगनमा रहेको चापाकलमा जडान गरिएको मोटरमा पानी तान्ने क्रममा उनलाई करेन्ट लागेको हो ।



