धरान:धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको कार्यकक्ष तोडफोड गर्ने बराह पीडित सङ्घर्ष समितिका संयोजक खगेन्द्र नेपाली पक्राउ परेका छन् ।
साउन १५ गते बराह पीडित सङ्घर्ष समितिले धरान उपमहानगरपालिका घेराउ गर्नेक्रममा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको कार्यकक्षको झ्याल तोडफोड गरेका थिए ।
मेयरको कार्यकक्ष तोडफोड भएको विरुद्धमा मेयर साम्पाङले बराह पीडित सङ्घर्ष समितिका संयोजक खगेन्द्र नेपाली र प्रवक्ता प्रदीप बास्तोला विरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुरमा किटानी जाहेरी दिएका थिए ।
सोही जाहेरी अनुसार साउन १८ गते सोही कसुरमा धरान १६ बाट प्रदीप बास्तोलालाई धरान प्रहरीले पक्राउ गरेको थियो ।
फरार भएका नेपाली आज बिहान पौने ११ बजे धरानको भानुचौकबाट प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी बुद्ध श्रेष्ठले बताए । श्रेष्ठले दिएको जानकारि अनुसार नेपाली झापाका विभिन्न स्थानमा लुकिछिपि रहेका थिए।जाहेरी उपर दुबैकाे बिषयमा थप अनुसन्धान भईरहेको डिएसपी श्रेष्ठले बताएका छन् ।