काठमाडौं । कास्कीमा बैंकिङ कसुरको आरोपमा एक महिला पक्राउ परेकी छन् । बागलुङको ताराखोला गाउँपालिका–१ घर भई पोखरा महानगरपालिका–२, मिरुवा बस्दै आएकी २७ वर्षीया दीक्षा पुनलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीविरुद्ध आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको अवस्थामा तीन लाखको चेक दिई चेक बाउन्स भएको आरोप छ । उक्त आरोपमा गएको शनिबार दिउँसो प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।कास्कीको अन्नपूर्ण गाउँपालिका–८, बिरेठाँटीस्थित निगालो घारीमा लुकीछिपी बसेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी गराएको छ ।
प्रहरीले उनीविरुद्ध उच्च अदालत पोखराबाट बैंकिङ कसुर मुद्दामा सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान गरिरहेको छ ।
ती महिलाले विभिन्न व्यक्तिहरूलाई यूके पठाइदिने भन्दै रकम लिई ठगी गरेको भन्ने सूचना आएकाले त्यसबारेमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । त्यस्ता पीडित व्यक्तिहरूलाई प्रमाणसहित कास्की प्रहरीमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।




