काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिका प्रमुख बालेन साहमाथि निरन्तर प्रहार गरिरहेका छन् । केही दिन अघि काठमाडौं आएका साम्पाङले काठमाडौंको फोहोरको विषयलाई लिएर बालेनमाथि टिप्पणी गरेपछि उनीहरुबिच सामाजिक संजालमा दोहोरी नै चलेको थियो ।
त्यतिबेला हर्कले फेसबुक स्टाटस लेख्दै भनेका थिए, ‘ काठमाडौंको चिल्ला र फराकिला सडक किनारामा फोहोरको डँगुर देख्दा त खाल्डा खुल्डी बाटो भएपनि धरानै सफा लाग्यो । प्रधानमन्त्री र मन्त्रीहरु बस्ने शहरको यो विजोग देख्दा श्रमदान गर्न मन लाग्यो।’
आफ्नै स्टाटसको प्रभाव भन्दै हर्कले त्यसको केही दिन पछि फेरि धरान फर्किएर स्टाटस लेखे – ‘जस्ले जे भनोस् तर म काठमाडौं नगएको भए फोहोर उठ्ने थिएन रैछ । कम्सेकम काम त शुरु गरे।’
सोही स्टाटसमा कमेन्ट गर्दै काठमाडौंका प्रमुख बालनेले जवाफमा भनेका छन् – ‘हो नी तपाइकै लौरो चुनाव चिन्ह लिएर मैले चुनाव पनि जेतेको हो नी।’
त्यसपछि हर्कले कमेन्टमा रिप्लाई दिएका थिएनन् । तर उनले अर्को दुई स्टाटसमा बालेन लक्षित जवाफ लेखेका छन् । पहिलो ‘आलोचना नै सुझाब हो भन्ने नबुझ्नेले के राजनीति गर्नु बेकारमा ।’
दोस्रो ‘देशको राजधानीलाई फोहोरको थुप्रोले पुरेर राख्न पाइदैन । मुख बजाउन छाडेर पाखु बजाउ नालायक हो । नामले खाएकाहरु हो । तिमेरुको रिस उठोस बेस्सरी । काम गर काम हावा तालका हो ।’
यतिकैमा केहीदिन हर्क र बालेनबीच वाकयुद्ध रोकिएको थियो । तर हर्कले बिहीबार पुन फेसबुक स्टाटस लेख्दै बालेनप्रति कटाक्ष गरेका छन् ।
उनले भनेका छन् ‘मैले के भने कसरी भने भन्दापनि मैले भनेको कुराले कस्तो र कति तरङ्ग ल्यायो र काला चस्मा लाएर सुतिरहेकाहरु कसरी जुर्मुराए भन्ने कुरा हेर्नु । सी द रिजल्ट नट द वे ।’
त्यस्तै बिहीबार नै उनले अर्को स्टाटस लेखेका थिए – ‘सत्य स्वीकार्न गाह्रो हुन्छ तर सत्य सत्य नै हो । अब बिस्तारै काठमाडौं तातिएर फोहोर व्यवस्थापन गर्नेछ । यी सब घोचपेच नभएको भए हुँदैन थियो । धन्यवाद युवा संघका युवाहरु र सबैलाई ।’