तिलोत्तमा — रुपन्देहीमा मोटरसाइकल आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ ।
एक जना घाइते भएका छन् । दुर्घटनामा शुद्धोधन गाउँपालिका–१ की १२ वर्षीया समीक्षा खराल र ७ वर्षीय सुप्रिम खरालको मृत्यु भएको भैरहवास्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । उनीहरु दिदीभाइ हुन् ।
तिलोत्तमा नगरपालिका–६ गोरकट्टामा आइतबार साँझ ५:४ बजे लु ६१ प ६१३० नम्बरको मोटरसाइकल र विपरीत दिशामा रहेको लु २८ प ७३४३ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । लु ६१ प ६१३० नम्बरको मोटरसाइकल चालक ३४ वर्षीय सुरज काफ्ले घाइते र सोही मोटरसाइकलमा सवार कमला खराल घाइते छिन् । उनीहरुको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
लु २८ प ७३४३ नम्बरको मोटरसाइकलका चालक बुटवल–७ का २६ वर्षीय सुरज थापा र सुवास खनाल सामान्य घाइते छन् । उनीहरुको पनि क्रिमसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।