Sunday, April 20, 2025
समाजभाटभटेनीको दसैँ अफर : ३० सेकेन्डमा छान्न भ्याएजति सित्तैमा सामान लैजान पाइने
spot_img

भाटभटेनीको दसैँ अफर : ३० सेकेन्डमा छान्न भ्याएजति सित्तैमा सामान लैजान पाइने

काठमाडौं । भाटभटेनी सुपर मार्केटले दसैँ तिहार र छठको अवसरमा ग्राहक लक्षित योजना सार्वजनिक गरेको छ । सो योजनामा भाटभटेनीबाट सामान खरिद गर्ने ग्राहकमध्ये प्रत्येक स्टोरबाट ३/३ जनाले ३० सकेन्डमा सकेजति सपिङको पैसा तिर्नु नपर्ने योजना पनि छ ।

यसपालिको दसैँ तिहार र छठ विगत ३ वर्षयताकै विशेष भएकोले यसपाली विशेष स्कीम ल्याइएको भाटभटेनी सुपरमार्केका चीफ अपरेटिङ अफिसर (सीओओ) पानु पौडेलले जानकारी दिए । भाटभटेनीले सबै सामानमा १० प्रतिशत छुट, एनआईसी एसिया बैंकको कार्डबाट भुक्तानी गर्दा थप १० प्रतिशत गरी २० प्रतिशत छुट र एनआईसी एसिया बैंकको स्मार्ट क्युआरबाट भुक्तानी गर्दा थप विभिन्न प्रकारका छुट र उपहार पाउने योजना ल्याएको पौडेलले बताए ।

‘अहिले भाटभटेनीका २३ वटा स्टोर छन्, यी स्टोरबाट हरेक साता ३÷३ जनाको दरले अनलिमिटेड सपिङ स्कीम पाउनुहुन्छ, यसको लागि लक्की ड्रबाट छानिएका ग्राहकले ३० सेकेन्डमा जति सक्नुहुन्छ, त्यति सपिङ गर्न पाउनुहुन्छ,’ सीओओ पौडेलले रातोपाटीसँग भने । यो स्कीम भनेको एनआईसी एसिया बैंकको स्मार्ट क्युआरबाट भुक्तानी गर्दा सहभागी हुन पाइने स्कीम हो ।

उनका अनुसार यसरी सामान लिन पाइने भनेको ग्रोसरीका सामान हो । यस्तो योजना सार्वजनिक गर्नुअघि भाटभटेनीले परीक्षण पनि गरेको थियो । परीक्षण गर्दा स्मार्ट ग्राहकले २८ देखि ३० हजारको र सामान्य ग्राहकले ७ देखि १० हजारको सामान लिन सक्ने देखिएको पौडेलले जानकारी दिए । यस्तै, क्युआरबाट १० हजारभन्दा बढीको सामान खरिद गर्दा ३ सय रुपैयाँ पर्ने प्रिमियम व्याग सित्तैमा र त्योभन्दा कमको सपिङमा रेगुलर व्याग सित्तैमा दिने स्कीम ल्याइएको छ ।

भाटभटेनीले काठमाडौं उपत्यका बाहिरका भारतीय सीमा नजिकका ६ वटा स्टोरमा प्रतिकेजी ६९ रुपैयाँमा चिनी विक्री गरिरहेको छ । काठमाडौं उपत्यकासहित अन्य केही स्टोरमा प्रतिकेजी ८४ रुपैयाँको दरले चिनी विक्री गरेको छ । जबकि बजारमा अहिले चिनीको मूल्य प्रतिकेजी ९९ रुपैयाँदेखि १०५ रुपैयाँसम्म छ । प्रतिकेजी ६९ रुपैयाँमा चिनी बेच्दा प्रतिकेजी २७ रुपैयाँ र प्रतिकेजी ८४ रुपैयाँमा विक्री गर्दा ११/१२ रुपैयाँ नोक्सानी भएको पौडेलले बताए ।

‘चिनीमा मात्रै हामीले १० करोड रुपैयाँ नोक्सानी हुन्छ भनेर सब्सिडीको व्यवस्था गरेका छौं, करिब १० लाख केजी चिनी यो दसैँमा विक्री हुन्छ होला भन्ने अनुमान अनुसार नेपाली उत्पादकसँग सो परिमाणको चिनी किन्ने भनेका छौं, यसमध्ये १ लाख ५० हजार केजी चिनी आइसकेको छ,’ पौडेलले थपे । भाटभटेनीले प्रतिकेजी ९० रुपैयाँमा चिनी किन्ने गरेको र प्याकिङ लगायतको खर्च जोड्दा प्रतिकेजी ९५ देखि ९६ रुपैयाँ लागत पर्ने उनले जानकारी दिए ।

अन्य दैनिक उपभोग्य बस्तुहरु दाल, चाम, नुन, मसला, तेल जस्ता सामानहरु लागत मूल्यमै विक्री गरेको भाटभटेनीले जानकारी दिएको छ । तेल लगायत केही वस्तुमा भने लागतभन्दा पनि सस्तोमा विक्री गरिएको सीओओ पौडेलले बताए । ‘व्यवसायमा सधै नाफामुखी भएर पनि हुँदैन, दसैँ तिहार छठ जस्ता चाडमा ग्राहकको घरमा पनि खुसी ल्याउन हामीले यस्तो गरेको हो, हामीले सहुलियत पनि सधै दिने होइन, नेपाल सरकारको सहुलियत पसलको भन्दा पनि प्रतिकेजी÷प्रतिलिटर ४/५ रुपैयाँ सस्तोमा हामीले दैनिक उपभोग्य वस्तु उपलब्ध गराइरहेका छौं,’ पौडेलले भने ।

दसैँम लत्ता कपडा, जुत्ता, बच्चाका कपडा जस्ता सामानमा बढी आकर्षण बढाउन पनि सबै सामानमा फ्ल्याटमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ । यो बाहेक एनआईसी एसिया बैंकको कार्ड वा एनआईसी एसिया बैंकको स्मार्ट क्युआरबाट भुक्तानी गर्दा थप १० प्रतिशत छुट हुने व्यवस्था मिलाइएको छ । नगद कारोबारको साटो डिजिटल भुक्तानीलाई प्रमोट गर्न यस्तो गरिएको हो । यसो गर्दा २० प्रतिशत छुट हुन्छ ।

कार्ड (भिसा वा मास्टर) बाट भुक्तानी गर्दा केही रकम विदेश जाने गरेको हुन्छ । तर, क्युआरबाट भुक्तानी गर्दा यस्तो रकम बाहिर पनि जादैन । त्यसैले क्युआर भुक्तानीलाई प्रमोट गर्न र नगद कारोबारलाई कम गराउन भाटभटेनीले थप स्कीमहरु पनि ल्याएको छ । जस्तो कि एक महिनाको अवधिमा क्युआरबाट भुक्तानी गर्नेलाई २० हजारमध्ये हरेक १ जनालाई १ हजार रुपैयाँ बराबरको गिफ्ट भौचर दिने गरिएको छ । लक्की ड्रमार्फत विजेता छनोट गरिने पौडेलले बताए । यस्तो गिफ्ट भौचर वितरण गर्दा करिब २ करोड रुपैयाँ खर्च हुने पौडेलले जानकारी दिए ।

भाटभटेनीमा मासुजन्य फ्रोजन सबै आइटममा पनि १० प्रतिशत छुट छ । विष्कुटमा १० देखि २० प्रतिशत छुट छ । स्याम्पुलगायत कस्मेटिक सामानमा १० देखि ३० प्रतिशतसम्म छुट छ । हकिङ्सको सामानमा ७ प्रतिशतको छुट छ । बाल्ट्राको सामानमा १० प्रतिशत छुट । हुलासका सामानमा १० प्रतिशत छुट छ ।

भाटभटेनीका देशभर २३ वटा स्टोर छन् । काठमाडौं उपत्यकामा १३ वटा स्टोर छन् । प्रत्येक दिन दैनिक करिब १ लाख जना भाटभटेनीमा सपिङ गर्न आउने गरेका छन् । दशैको समयमा दैनिक १ लाख ७५ हजारदेखि २ लाख जनासम्म आउने अनुमान गरिएको छ भने दसैँभरमा २ अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुने अनुमान छ । भाटभटेनीले यसपालीको दसैँमा २५ करोड रुपैयाँ बराबरको अनुदान दिने स्कीम ल्याएको छ । ‘विगतका दसैँहरुमा पनि विभिन्न प्रकारका स्कीमहरु आउँने गरेका थिए, यो वर्ष भने हामीले अलि खुल्ला रुपमा ठूलो स्कीम ल्याएका छौं,’ पौडेलले भने ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img