काठमाडौं । कालिकोट तिलागुफा नगरपालिका–४ का १८ वर्षीय हेमराज शाही मुटु रोगी थिए । उनको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया गर्ने मिति तय थियो । दसैँ नजिकिँदै थियो । परिवारका सदस्यले दसैँ मनाएर शल्यक्रिया गर्ने योजना बनाए । तर, हेमराजले शनिबार प्राण त्यागे ।
पछिल्लो पाँच दिनयता कालिकोटलगायत जिल्लामा लगातार वर्षा भइरहेको छ । शनिबार बिहान हेमराजको शव अन्त्योष्टि गर्न बुबासहित ६० बढी मलामी घरबाट निस्किए । तिलागुफा–४ राचुलीमा नदी किनारमा शवमा दागबत्ती दिइयो । दागबत्ती दिनेमा थिए, हेमराजकै ६० वर्षीय बुबा कालीबहादुर शाही ।
घटनास्थलमा रहेका तिलागुफा नगरपालिकाका उपमेयर महेन्द्रबहादुर शाहीले भने, “चिता जल्दाजल्दै माथिबाट पहिरो खसेछ । भागदौड भयो । चिता नजिकै रहेका उनका बुवा ४ नम्बर वडाका अध्यक्ष प्रसिद्ध शाहीसहित १३ जनालाई पहिरोले पुरेछ । कोही भेटिएका छैनन् ।”
सोही पहिरोले १० भन्दाबढी घर पनि बगाएको छ । चार घण्टा पैदल हिँडेर प्रहरी टोली आज घटनास्थल पुगेको छ । बेपत्ता भएकाहरुको खोजी कार्य जारी छ ।
बेपत्ता हुनेहरुमा हेमराजका बुबा कालीबहादुर शाही, वडाध्यक्ष प्रसिद्ध शाही, प्रशान्त शाही, मोतिलाल शाही, नरेश शाही, छत्र शाही, धनबहादुर शाही, अनील शाही, मानबहादुर शाही र खगेन्द्र शाही छन् ।
उपमेयर शाहीले बेपत्ता हुनेहरु नजिकका आफन्त र नातागोताका बढी छन् । कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको बताए ।
अहिले पनि पहिरो जाने क्रम रोकिएको छैन । स्थानीयलाई कालिका माविमा राखिएको छ । बस्ती जोखिममा रहेको उपमेयर शाहीले जानकारी दिए । उनका अनुसार सो क्षेत्रमा इन्टरनेट, विधुत् सेवा अवरुद्ध छ ।