बारा- ३ दशकदेखि बन्द रहेको वीरगञ्जस्थित कृषि औजार कारखाना पुनःं सञ्चालनमा आउने भएको छ । राष्ट्रिय आविष्कार केन्द्रको प्राविधिक टिमले कारखाना सञ्चालनको तयारी गरेको छ ।
आविष्कार केन्द्रको १६ जना प्राविधिक टिमले ४ दिनदेखि कारखानामा दैनिक १२ देखि १६ घन्टा खटेर पुराना मेसिन सरसफाइ गर्ने, चल्नसक्ने र फाल्नुपर्ने मेसिनहरु छुट्याउने, विद्युतीकरणको अवस्था र कारखाना सञ्चालनका लागि तत्काल लाग्ने लागतको विषयमा प्रारम्भिक अध्ययन सुरु गरेको छ । असोज ११ गते नेपाल सरकार र राष्ट्रिय आविष्कार केन्द्रबीच भएको सम्झौताका आधारमा कारखाना सञ्चालनको सम्पूर्ण जिम्मा सरकारले राष्ट्रिय आविष्कार केन्द्रलाई दिने निर्णय गरेको हो ।
सोही सम्झौता अनुसार आविष्कार केन्द्रले कारखानाको अवस्थाबारे २ साताभित्र सरकारलाई प्रतिवेदन बुझाउने र सोही आधारमा काम अगाडि बढाउने जनाएको छ ।
पहिलो चरणमा ८ देखि १० महिनाभित्रका कुटो, कोदालो, कैची, बेल्चादेखि धान झार्ने मेसिन र अन्य हातले चल्ने साना मेसिनहरुको उत्पादनको काम सुरु गर्ने केन्द्रले जनाएको छ । दोस्रो वर्षदेखि भने सरकारको आर्थिक सहयोगमा कारखानामा आधुनिक टेक्नोलोजी भित्र्याउने र नाफामुलक ढंगबाट उत्पादन क्षमता बढाउने जनाइएको छ ।
नेपालको कृषि क्षेत्रलाई आवश्यक पर्ने सबै किसिमका उपकरण स्वदेशमै उत्पादन गर्ने उद्देश्यले तत्कालीन सोभियत संघ सरकारको सहयोगमा २०२४ सालमा वीरगञ्ज कृषि औजार कारखानाको स्थापना भएको थियो । १० बिगाहा क्षेत्रफलमा रहेको कारखानाले देशका विभिन्न स्थानमा बिक्री डिपो र डिलर राखेर कृषि औजार र यन्त्रहरु आपूर्ति गर्दथ्यो । वायुसेवा निगम, नेपाल टेलिकम, विद्युत प्राधिकरण, दुग्ध विकास संस्थानको दूध बोक्ने टयाङ्की लगायतलाई पनि आवश्यक सामान यहीँ निर्माण हुन्थ्यो । तर ०४६ सालको राजनीतिक परिवर्तनसँगै कृषि औजार कारखाना धरासायी भयो । २०५९ सालदेखि कारखाना पूर्ण रुपमा बन्द भएको हो ।
उत्पादकत्व बढाउन एवं कारखानालाई नाफामा सञ्चालन गर्न सरकारी उद्योगलाई निजीकरण गर्ने योजना अनुरूप २०५४ सालमा कारखाना निजीकरणमा गयो । कारखानाको ६५ प्रतिशत शेयर बिक्री गरेर सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिइएको थियो तर त्यो पनि सफल हुन सकेन ।
कृषि औजार कारखाना ३० वर्षदेखि बन्द भए पनि बन्द कोठाभित्र भएको कारण ५० प्रतिशत औजारहरु तत्कालै प्रयोग गर्न मिल्ने खालको भएको अविष्कार केन्द्रले जनाएको छ ।
कारखाना सञ्चालनका लागि ८ देखि १० करोड आवश्यक
आविष्कार केन्द्रले पुराना मेसिनहरुको मर्मत सम्भार गरेर तत्काल कारखाना सञ्चालनका लागि ८ देखि १० करोड आवश्यक पर्ने जनाएको छ । ‘इन्जिनियरिङ्ग इस्टिमेट हुन बाँकी छ तर, तत्काललाई ८/१० करोड भयो भने मर्मतसम्भारको काम र ३० वर्षअघि जुन अवस्थामा कारखाना बन्द भएको थियो, त्यो अवस्थामा चल्न सक्ने स्थितिसम्म ल्याउन सकिन्छ,’ पुनले भने ।