काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले दलितद्वेषी स्टाटसप्रति माफी मागेका छन् । उनले सामाजिक सञ्जाल फेसबुक पेजमार्फत क्षमा मागेका हुन् ।
आफूले मंसिर २८ मा आफूले पोष्ट गरेको स्टाटसमा गाउँले ठट्यौली उखानको शैलीमा ‘चमारे’ शब्द अप्रत्याशित प्रयोग भएको भन्दै त्यसले दलित समुदायलाई नराम्रो लागेको यथार्थ प्रति दुःख व्यक्त गर्दै माफी मागेका हुन् ।
उक्त शब्दले धेरैलाई दुःखी बनाएककाले त्यसका लागि आफ्नो शब्द फिर्ता लिंदै यसबाट कसैलाई ठेस पुर्याउने नियतवश उक्त स्टाटस नरहेको पनि जानकारी गराएका छन् । राईले आइतबार साँझ एक प्रेस विज्ञप्ती जारी गर्दै आफुबाट गल्ति भएको भन्दै क्षमा मागेका हुन् ।
प्रमुख राइले अभिव्यक्तिले ७० लाख दलित समुदायमाथी अपमान भएको भन्दै धरान उपमहानगरपालिकाका कार्यपालिका सदस्यदेखि स्थानीय राजनीतिक दलका भ्रातृ संघ संगठनले बिरोध जनाउनुका साथै सोमबार राई बिरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी दर्ता गराउने तयारी गरेका थिए ।
यति मात्र नभएर राष्ट्रिय दलित आयोगलेसमेत उनलाई कानूनी कारवाही गर्नका लागि गृह मन्त्रालयलाई सिफारिस गरेको थियो । आइतबार मात्रै राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा र सदस्य सुन्दर पुर्कुटीसहितको टोलीले गृहसचिव विनोप्रकाश सिंहलाई भेटेर तत्काल कारबाही गर्नका लागि निर्देशन दिएको थियो । सचिव सिंहले तत्काल कारवाही प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाएका थिए ।




