Friday, January 17, 2025
समाजम्यानपावर र रेमिट्यान्स व्यवसायीलाई श्रम मन्त्रालयको चाबी

म्यानपावर र रेमिट्यान्स व्यवसायीलाई श्रम मन्त्रालयको चाबी

काठमाडौं । चुनावअघि राष्ट्रिय स्वतन्त्र पार्टीले वाचापत्र सार्वजनिक गर्दै रोजगारीका लागि बाध्यतावश देश छाड्नु नपर्ने बताएको थियो । वाचा पत्रमा ३१ वर्षपछि कुनै पनि नेपाली वैदेशिक रोजगारीका लागि विदेश जान बाध्य हुनुनपर्ने कल्पना पूरा हुने भनिएको थियो ।

तर, यो वाचापत्र ल्याउने पार्टीका सभापति रवि लामिछानेले म्यानपावर कम्पनी, विद्यार्थीलाई विदेश पठाउने शैक्षिक परामर्श सेवा (एजुकेसन कन्सल्टेन्सी) का सञ्चालक एवं रेमिट्यान्स व्यवसायीलाई नै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्वमा पठाएका छन् । रास्वपाले गरेको निर्णयका आधारमा पार्टी उपसभापति समेत रहेका डोलप्रसाद अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री नियुक्त भए र मंगलबार पद तथा गोपनीयताको शपथ लिए ।

अर्याल सोझै स्वार्थ बाझिने मन्त्रालयमा मन्त्री बनेर आएका छन् । अर्याल म्यानपावर कम्पनीसँग पनि जोडिएर आफ्ना व्यवसायहरू चलाउँछन् । उनी रेमिट्यान्स व्यवसायमा समेत संलग्न छन् ।

उनी नयाँ बानेश्वरको श्रृष्टि ओभरसिज इम्प्लाेयमेन्ट सर्भिस प्रालिका अन्तर्राष्ट्रिय बजार निर्देशक हुन् । ओभरसिजको आधिकारिक वेबसाइटका अनुसार यो म्यानपावर कम्पनीको पार्टनरका रूपमा अर्यालकै कम्पनी सुमिरे ट्राभल एन्ड टुर्स पनि छ।
म्यानपावरको टिमको साथमा मन्त्री अर्याल -स्रोत : कम्पनीको वेबसाइट

श्रृष्टि ओभरसिजका एक सञ्चालकका अनुसार अर्यालले जापानबाट एक परियोजनामार्फत श्रमिक विदेश लैजानका लागि एक एजेन्टसँग सम्पर्क गराएका थिए । त्यसैमार्फत उनले जापानमा ‘जिट्को’मार्फत श्रमिक लैजान समन्वयका लागि काम गर्ने गरेका छन् । सिधै लगानी नभएपनि कम्पनीसँग जोडिएर जापानमा श्रमिक लैजान आर्यालले काम गर्ने गरेका छन् । कम्पनीको वेबसाइटका अनुसार उनी अझै पदीय जिम्मेवारीमा कायम छन् ।

पूर्वसचिव शारदाप्रसाद त्रिताल स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने आफैं पनि नागरिकताबारेको छानविनमा रहेको अवस्थामै स्वार्थ बाझिने गरी गृहमन्त्री भएको उदहारण दिंदै प्रजातन्त्रिक प्रणालीलाई नै ध्वस्त गराउने गरी यस्तो काम भइरहेको बताउँछन् । ‘स्वार्थ बाझिने भएपछि प्रतिनिधिसभाको उम्मेदवारी दर्ता गर्दा नै आफ्नो सबै व्यावसायिक जिम्मेवारी छोडिसक्नुपर्ने हो,’ उनी भन्छन् ।

म्यानपावर व्यवसायीलाई नियमन गर्ने मन्त्रालयको नेतृत्वमा नै म्यानपावर कम्पनीसFग जोडिएका व्यवसायी पुगेपछि भविष्यमा पीडित श्रमिकले झन् बढी सास्ती भोग्ने अवस्था आउने डर विज्ञहरु बताउँछन् ।

समानुपातिक पद्धतिबाट सांसद् उनी जापान केन्द्रित रेमिट्यान्स कम्पनी इजीलिंक रेमिटका सञ्चालक हुन् । कम्पनीको वेबसाइटमा उनी इजीलिंक रेमिटको निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेको उल्लेख छ ।

२०५३ सालमा विद्यार्थी भिसामा जापान गएका उनी ८ वर्ष त्यहाँको रेस्टुरेन्टमा श्रमिकका रुपमा काम गरेर स्वदेश फर्किएका थिए । त्यसपछि अर्यालले पर्यटनसँगै रेमिट्यान्स व्यवसाय सुरु गरेका थिए । विदेश जाने विद्यार्थीलाई लक्षित गरेर कन्सल्टेन्सी सुरु गरेका उनले योकोहामा जापानिज भाषा केन्द्र, सुमिरे टुर्स एण्ड ट्राभल्स लगायतका व्यवसायमा लगानी गरेका थिए ।

धादिङको ज्वालामुखी गाउँपालिका स्थायी घर भएका अर्याल आफूलाई सहकारी अभियन्ताका रुपमा चिनाउने गर्छन् । उनी जनसागर बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष समेत भएका थिए । रवि लामिछाने फाउन्डेसनले रास्कोट कम्युनिटी हस्पिटल बनाउने क्रममा रवि लामिछानेसँग जोडिएका उनले रास्वपा गठनपछि प्रवास विभाग प्रमुखको जिम्मेवारी पाएका थिए । लामिछाने २८ असोज २०७५मा अर्यालको कम्पनी इजीलिंकको ब्रान्ड एम्बेसडर समेत बनेका थिए ।

विगतमा आफैं श्रमिक भएर वैदेशिक रोजगारीमा गएकाले विदेशिएका नेपालीका मर्म आफूले राम्रोसँग बुझ्ने उनी बताउँछन् । ‘अब म सबै नेपाली दाजुभाइको साझा मान्छे हुँ, मैले सबैको हित र राम्रोका लागि काम गर्छु’, अर्यालले पदभार ग्रहण गरेपछि अनलाइनखबरसँग भने, ‘स्वदेशका बेरोजगार जनशक्तिलाई रोजगारी दिन र विदेशमा रहेकाहरुको समस्यालाई अध्ययन गराएर हामी काम गर्छाैं ।’

उनले नेपालमा जागिर नपाएर विदेशिनुपर्ने अवस्था अन्त्यका लागि पनि गम्भीर रहेको बताए । भने, ‘विदेश जानैपर्नेका लागि उनीहरुको आत्मसम्मान र सुरक्षाको प्रत्यभूति सरकारले गर्छ ।’

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img