काठमाडौं : पुरानो स्थानिय निकायका गाविस, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका विघटन भएर नयाँ ढाँचा अनुसारको स्थानीय तहमा गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका गठित भएको पनि ६ बर्ष पुग्ने लाग्यो । तर कुन स्तरको प्रतिनिधिले के काम गर्न सक्छन भन्ने कुरामा जनता अझै अलमलमा छन् ।
त्यसैले आज वडा अध्यक्षको काम कर्तव्य र अधिकारको बारेमा चर्चा गर्दैछौं ।
केन्द्र सरकारमा मन्त्रीको भूमिका जस्तै हरेक वडा अध्यक्षले आफ्नो गाउँपालिकाभित्र कार्यकारी अधिकार हुन्छ । जस्तै एउटा वडा अध्यक्षलाई गाउँपालिका प्रमुखले आफ्नो सरकार अन्तर्गत शिक्षा क्षेत्र हेर्ने जिम्मा दिन सक्छ, अर्कोलाई खानेपानी, अर्कोलाई सिंचाइ, अर्कोलाई कृषि । यसरी मन्त्रालयको भूमिकामा हरेक वडा अध्यक्षले उनीहरुले जिम्मेवारी पाउछन ।
संविधानले नै हरेक गाउँकार्यपालिका/नगरकार्यपालिकाले आफ्नो कार्यविभाजन र कार्यप्रक्रिया नियमावली बनाउनु पर्ने व्यवस्था गरेको छ । त्यसरी कार्यविभाजन नियमावली बनाउँदा गाउँपालिकाका सदस्यहरु अर्थात वडा अध्यक्षहरुलाई कामको जिम्मेवारी पनि तोकिने गरिन्छ ।
हरेक वडालाई सेवाकेन्द्रको रुपमा राखिएको छ । त्यो वडाले प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउने जिम्मेवारी पनि वडा अध्यक्षकै हुन्छ । तर, वडाको आर्थिक विकासमा वडा अध्यक्षको पूर्ण अधिकार हुन्छ भन्ने बुझाइ गलत हो । किनकि वडा अध्यक्षले आफैँ वडामा शासन गर्दैन । त्यहाँको सेवा प्रभावकारी बनाउने भूमिका हुन्छ र त्यसका लागि वडा सदस्यहरुको सहयोग लिन सक्छ ।
यस्तै वडा अध्यक्षहरु स्वतः गाउँसभाका सदस्य हुन्छन् । गाउँसभाका सदस्यहरु भनेको गाउँपालिकाको सांसद हुन् । आफ्नो गाउँपालिका वा नगरपालिकाको कानुन बनाउने काममा वडा अध्यक्ष वा गाउँसभाका सदस्यहरुको भूमिका हुन्छ ।
गाउँपालिका प्रमुख उपप्रमुखले ल्याएका योजना, नीति तथा बजेट फेल गराउने र पास गराउने काम समेत यसै गाउँसभाका सदस्य अर्थात वडा अध्यक्षहरुले गर्न सक्छन ।
स्थानिय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत वडा अध्यक्षको काम कर्तव्य र अधिकार :
- वडा समितिको अध्यक्ष भइ कार्य गर्ने ।
- वडा समितिका सदस्यहरुको काममा समन्वय र सहजीकरण गर्ने ।
- वडाको विकास योजना , बजेट तथा कार्यक्रम तयार गर्ने , गर्न लगाउने तथा स्वीकृतिका लागि गाउँपालिका तथा नगरपालिकामा पेश गर्ने ।
- वडाबाट कार्यन्वयन हुने योजना तथा कार्यक्रम कार्यन्वयन गर्ने गराउने , सोको अनुगमन तथा आवधिक समिक्षा गर्ने गराउने ।
- सिफारिस तथा प्रमाणित सम्बन्धी कार्य गर्ने ।
- सात दिनभन्दा बढि समय वडामा अनुपस्थित हुने भएमा वडाको दैनिक, प्रशानिक तथा सिफारिस सम्बन्धी कार्य गर्न सम्बन्धित वडा समितिको कुनै सदस्यलाई जिम्मेवारी तोकी सोको जानकारी अध्यक्ष वा प्रमुखलाइ दिने ।
- कार्यपालिका, सभा वा वडा समितिले तोकेका अन्य कार्य गर्ने ।



