काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धनको सरकारमा आफू सहभागी नहुने बताएका छन् ।
आइतबार आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफू वर्तमान सरकारमा मन्त्री नबन्ने र बन्न पनि नमिल्ने भन्दै आफू आफ्नो पार्टी सरकारमा जाँदा सरकारलाई सफल बनाउन लाग्ने बताए ।
उनले आफू सरकार कति दिन टिक्यो भन्ने आधारमा सरकारको सफलताको मापन नगर्ने भन्दै सरकारबाट कति परिणाम निस्कियो भन्ने आधारमा सरकारको काम हेर्ने बताए । उनले सरकारले परिणाम दिन सकेन भने ५ वर्ष खेर जाने बताए ।
महामन्त्री थापाले राजनीतिक दलहरु खुशी हुँदैमा जनता खुशी हुन्छन् भन्ने भ्रम नपाल्न पनि आग्रह गरे । उनले सरकार बन्नेकुरा प्राथमिकतामा नराखी सरकारले जनतासमक्ष परिणाम दिन सक्नुपर्ने बताए । उनले नेपालमा पूर्वप्रधानमन्त्रीहरुको क्लवबाट नै आलोपालो प्रधानमन्त्री अभ्यास रहेपनि सरकारले नागरिकलाई सेवासुविधाहरु दिन सक्नुपर्नै बताए ।
महामन्त्री थापाले सरकारसँग ५ वर्षमा जनताको भरोसा रहन्छ की रहँदैन भन्ने सोचेर काम गर्नुपर्ने बताए । उनले प्रधानमन्त्री गठबन्धनको नेता नभइ सरकारको नेता हुन सक्नुपर्ने बताए ।