काठमाडौं: उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि अभद्र व्यवहार प्रदर्शन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको बताएका छन् ।
बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले झापाको बुधवारेमा एमाले अध्यक्ष ओली सहभागी भएको कार्यक्रममा कोशी प्रदेश नामाकरणमा विरोध गर्नेहरूले ढुङ्गामुढा गरेका बताए । उनले त्याे घटना हुनु दुःखद भएको भन्दै सरकारको तर्फबाट निन्दा गरेको बताए । उनले प्रहरीले ढुङ्गामुढा गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको पनि जानकारी गराए । गृहमन्त्री श्रेष्ठले अराजक गतिविधि गर्नेहरूलाई सरकारले छुट दिन नसक्ने पनि स्पष्ट पारे ।
यस्तै गृहमन्त्री श्रेष्ठले कपनमा भएको महिला हत्याको सम्बन्धमा पनि प्रहरीले अनुसन्धान जारी राखेको बताए । उनले केही दिनभित्रैमा प्रहरीले सत्य/तथ्य पत्ता लगाउने र दोषीलाई कानुनको कठघरामा ल्याउने विश्वास व्यक्त गरे । उनले मिटरब्याजी पीडितलाई न्याय दिने र पीडकलाई कानुनी कठघरामा ल्याउने गरी सरकारले नीति, निर्णय, कदम र प्रक्रिया अगाडि बढाएको बताए । उनले केही दिनअघि मिटरब्याजी पीडितको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको भन्दै त्यसप्रति माफी पनि मागे ।
गृहमन्त्री श्रेष्ठले नागरिकता विधेयकमा सबै राजनीतिक दलहरूका बीचमा सहमति खोज्ने कोसिस भइरहेको बताए ।