काठमाडौं । अमेरिकी कम्पनी फाइजर–बायोएनटेकले उत्पादन गरेको कोभिड-१९ विरुद्धको फाइजर खोप नेपाल आइपुगेको छ।
अमेरिकाले अनुदानमा उपलब्ध गराएको एक लाख बढी डोज खोप आज बिहान कतार एअरवेजको विमानमार्फत् काठमाडौं आइपुगेको हो ।फाइजरको खोप कात्तिक २८ गतेदेखि लगाउने गरी तयारी भइरहेको छ । खोप १२ वर्षमाथिका दीर्घ रोगीलाई लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
१२ वर्षभन्दा माथिका जुनसुकै उमेर समूहका क्यान्सर, मुटु, मधुमेह, दम, एचआईभी जस्ता दीर्घरोगीलाई प्राथमिकतामा राखेर खोप दिने तयारी सरकारको छ ।
फाइजर खोप नेपाल आएको पहिलोपटक हो । फाइजर खोप ९५ प्रतिशत प्रभावकारी रहेको अनुसन्धानबाट पुष्टि भएको छ । यसअघि नेपालमा अस्ट्राजेनेका, भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप प्रयोगमा आइसकेका छन् ।



