Sunday, January 19, 2025
समाजजाजरकोट भूकम्प : मृत्यु हुनेको संख्या १२९ पुग्यो, कम्तीमा ३५० घाइते

जाजरकोट भूकम्प : मृत्यु हुनेको संख्या १२९ पुग्यो, कम्तीमा ३५० घाइते

काठमाडौं : जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या १२९ पुगेको छ। ३५० भन्दा धेरै घाइते भएका छन्।

 

 

जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३७  जनाको मृत्यु भएको हो। जिल्ला प्रशासन कार्यालय जाजरकोटका सूचना अधिकारी हरिश्चन्द्र शर्माका अनुसार नलगाढ नगरपालिकामा सबैभन्दा धेरै ४७ जनाको मृत्यु भएको छ।

भेरी नगरपालिकामा ३१, कुशे गाउँपालिकामा ७ र छेडागाड नगरपालिकामा एक जनाको मृत्यु भएको जानकारी आएको उनले जानकारी दिए। अहिलेसम्म साढे २ सयभन्दा धेरै घाइते अस्पताल पुगेको अनुमान गरिएको उनको भनाए छ।

केही उपचारपछि डिस्चार्ज भएका, केहीलाई अस्पताल लगिँदै गरेको र विकट ठाउँका केहीलाई अस्पताल पुर्‍याउनै बाँकी रहेकाले यकिन तथ्यांक प्राप्त गर्न कठिनाइ भएको शर्माले बताए। राति सुतेका बेला भूकम्प आएकाले घर भत्किएका ठाउँमा परिवारका सबैजसो सदस्यको मृत्यु भएको पाएको उनले जानकारी दिए।

रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा १९ र सानीभेरी गाउँपालिकामा ९ जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालले जानकारी दिनुभयो। उहाँका अनुसार १५० जना घाइते भएका छन्।

तीमध्ये ८ जनालाई सुर्खेत पठाइएको छ भने अरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। गएराति ११ बजेर ४७ मिनेटमा जाजरकोटको बारेकोट गाउँपालिका केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पको केन्द्रबिन्दु बारेकोट गाउँपालिकामा भने मानवीय क्षति नभएको गाउँपालिका अध्यक्ष बीरबहादुर गिरीले जानकारी दिए। ​घरमा क्षति भए पनि मानवीय क्षति हुनबाट जोगिएको उनको भनाइ छ।

मध्यरातको भूकम्पपछि लगातार परकम्प गइरहेको छ। गएरातिदेखि अहिलेसम्म ४ रेक्टर माथिका ४ वटा परकम्प गइसकेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img