धनकुटा / धनकुटामा गत एक हप्तादेखि ढोल नाच (पापनी) र मारुनी नाचेर मनाइने वाडाङ्मी पर्वको रौनक छाएको छ । विशेष गरेर जिल्लाका चार स्थानीय तहमा रहेका राई समुदायले चार दिनदेखि १५ दिनसम्मका लागि यो पर्व मनाइरहेका छन् ।
अहिले धनकुटा नगरपालिका र सहिदभूमि गाउँपालिकाको सबै ठाउँमा ढोलनाच, मारुनी नाच तथा भोज खाएर चाड मनाउने क्रम जारी छ । पाख्रिबास नगरपालिकाको फाङ्दुवा क्षेत्रमा गत बिहीबार यस वर्षको वाडाङ्मी चाड सकिएको छ भने साँगुरीगढी गाउँपालिकाको आहाले–महाभारत क्षेत्रमा पनि पापनी तथा वाडाङ्मी शनिबार सकिएको छ ।
आफ्ना इष्टदेव बराह, मार्गा, जिमी मार्गा, सुब्बा मार्गा, फुडाहाङ (बुढाहाङ)को दैविक आह्वान गर्ने तथा पितृ पूजा (श्राद्ध) गरेर यो पर्व मनाउने गरिन्छ । समुदायअनुसार कुखुरा, सुँगुर, परेवा, राँगा आदिको बलि पूजा गरेर जाँड, रक्सीसँग खाने र जमरा तथा सयपत्री फूलको माला लगाएर यो पर्व मनाइन्छ ।
ढोल र मादलको आवाजले गुञ्जयमान जिल्लामा आउने आगन्तुक तथा पाहुना पर्यटकले अहिले ढोलनाच, मारुनी मादलको रमितासँगै स्थानीय परिकार र पेय पदार्थको आनन्द लिन सक्नेछन् ।
धनकुटा नगरपालिकाको १० वडाभित्र करिब पाँच हजार जनसङ्ख्या रहेको यो समुदायलाई अहिले तोकिएको समयसीमाभित्र वाडाङ्मी चाड सक्नैपर्ने चटारो छ । वर्षभरि देहान्त भएका आफन्तको बरखी बारेका तीर्थालु दुःख बहाउनका लागि बराह धामको सामूहिक तीर्थयात्रासँगै सुरु भएको चाड औँशी आउनुभन्दा एक दिनअघि सक्न आठपहरिया समुदाय चाडमा व्यस्त छन् ।
विसं २०३० सम्म छ किपट (बिर्ता)सहित नौ पगरीको राजसी अधिकार पाएका यी समुदायको संस्कृति जीवन्त छ । विसं २०५८ बाट आफूहरू राई नभएको जनाउँदै आठपहरिया जातिको नामबाट पहिचान खोजिरहेका यो समुदाय अझै पनि आफ्नो परापूर्वकालीन सांस्कृतिक तथा धार्मिक कानुनमा सञ्चालित छ । तथापि यो समुदायले आफ्नो सबैभन्दा ठूलो पर्व वाडाङ्मीमा खुलेर आफूसँग भएको ऋण, धन खर्च गरेर चाड मनाउने गरेका छन् ।
कार्तिक शुक्ल पूर्णिमाको चार दिनअघिबाट बराह क्षेत्रको सामूहिक तीर्थयात्रासँगै यी समुदाय चाड मनाउन व्यस्त रहेको किरात आठपहरिया समाजका केन्द्रीय सदस्य कोमल आठपहरिया (राई)ले जानकारी दिए । पन्ध्र दिनभन्दा बढी मनाइने यो पर्वमा आफ्ना सबै काम छाडेर यो समुदाय एक वर्षभित्रमा आफ्नो परिवारमा जन्मदेखि मृत्युसम्ममा घटेका सबै खालका सांस्कारिक घटनाबाट चोखिन व्यस्त छन् ।
विशेषगरेर वर्षभरि मृत्यु भएकाका बरखी बारेका आफन्त यही पर्वमा ५२ किमी दक्षिणमा रहेको आफ्ना मुख्य इष्टदेव बराह धाममा तीर्थ गएर उनलाई चाडमा आउने निम्तो दिने र कपाल खौरेर सप्तकोशीसँगै रहेको कोकाहा खोलामा दुःख बहाउने गर्दछन् ।
साँगुरीगढी गाउँपालिका क्षेत्रको साविक महाभारत र आहाले गाविस हाल वडा नं ८ र ९ का राई समुदायले सबैभन्दा छोटो चाड मनाएर शनिबारबाट वाडाङ्मी सकिएको छ । वर्षभरि देहान्त भएका आफन्तले कार्तिक एकादशीमा बराह र त्रिवेणी नदीमा कपाल काटेर दुःख बहाएर आएपछि पूर्णिमाको पहिलो बुधबारबाट यस क्षेत्रमा चाड सुरु हुने गर्दछन् ।
बुधबारबाट किलघर (पुजारी घर)मा माड उठाउने काम (दैवी आह्वान)पछि चाडका लागि तोकिएको चारदिने समयसीमासँगै शनिबारदेखि चाड सकिएको साँगुरीगढी गाउँपालिका वडा नं ८ सिङ्कुलाका महेन्द्र राईले जानकारी दिए ।