भोजपुर / भोजपुरको षडानन्द नगरपालिकाले ३२ औं अन्तराष्ट्रिय अपांगता दिवस विविध कार्यक्रम सहित मनाएको छ । षडानन्द नगरपालिकाको सामाजिक विकास शाखा र स्वास्थ्य शाखाको आयोजनामा ३२ औं अन्तराष्ट्रिय अपांगता दिवस मनाएको हो ।
३२ औं अन्तराष्ट्रिय अपांगता दिवस नगरपालिका क्षेत्र भित्र रहेका अति विपन्न र अपांगता भएका १४ जना अपांग र १४ अपांग बालबालिकाहरुलाई आवश्यक लत्ता कपाडा र पोषणयुक्त सामग्री वितरण गरेर दिवस मनाएको हो ।
सामाजिक विकास मन्त्रालय कोशी प्रदेशको ७० हजार र षडानन्द नगरपालिका सामाजिक विकास शाखाको ७० हजार गरि १ लाख ४० हजारले विविध कार्यक्रम सहित दिवस मनाएको हो । दिवसको अवसरमा १४ जना बाल अपांग व्यक्तिहरुलाई पोषणयुक्त आहारा वितरण गरेका छन् भने १४ वडामा रहेका अति विपन्न र क बर्गका अपांगहरुलाई न्यानो कपाडा वितरण गरि नगरपालिकाले दिबस मनाएको छ ।
अपांग भएका व्यक्तिहरुको क्षमाताको खोजी र फरक प्रस्तुतिको खोजीमा षडानन्द नगरपालिकाको सामाजिक विकास समिति लागेको छ । अवसरको पर्खाइमा बसेका छन् कति र कतिले अवसरलाई प्रचार–प्रसारको अभावले बुझेका छैनन् तर षडानन्द नगरपालिकाको सामाजिक विकास शाखाले बजेटको व्यवस्थापन गरेर शिविर सञ्चालन गरि क्षमता पहिचान र समस्याको न्युनिकरण गर्ने उदेश्यले धेरै कार्यक्रमहरु बनाएको छ ।
लक्षित कार्यक्रमको परिधिमा रहने व्यक्तिहरुलाई नगरपालिकाको सामाजिक विकास समितिले पाउने सेवा सुविधाबाट बञ्चित नगर्ने षडानन्द नगरपालिका समाजिक विकास समितिका संयोजक मन्दिप रसाईलीले बताएका छन् ।
कानुनी अपराध रहेको अपाङ्गताको आधारमा गरिने भेदभाव कसैलाई पनि नगरौं,नगराऔं, उनिहरूलाई संरक्षण,सेवा र सुबिधा सहित सम्मानपूर्वक जीवन जीउने वातावरण निर्माण गरौं भन्दै एउटा कार्यक्रमले सबैलाई समेट्न नसकिने र नियम कानुनले सबैको समस्याको समाधान गर्न सकिदैन तर नियम र कानुनले दिन मिल्ने र सकेसम्म व्यवहारिकतालाई समेत ध्यानमा राखेर नगरपालिकाले काम गरिरहेको छ ।
लक्षित अन्र्तगतका कार्यक्रमहरुमा गहिरो अध्ययन संगै नगरपालिकाले गर्ने क्रियाकलाप गरिरहेको नगरपालिका उपप्रमुख प्रमिला राईले बताईन । सानो बजेटले सांकेतिक रुपमा लक्षित कार्यक्रमको सुरुवात गरेको छ । यो कार्यक्रम पर्याप्त हैन यस्ता खालका जनहित कार्यक्रमलाई नगरपालिकाले आगमी बर्षहरुमा बृहत बनाएर अगाडी बढाउने नगरपालिका प्रमुख सुरेन्द्र कुमार उदासले बताए ।