भोजपुर / भोजपुरको षडानन्द नगरपालिकाले सुकुम्वासी समस्या समाधानका लागि निस्सा बितरण थालेको छ । सुकुम्वासीको फारम भरी भुमी आयोगबाट सूचीकृत भएकाहरुलाई नगरपालिकाले निस्ता बितरण कार्य थालेको हो ।
षडानन्द नगरपालिकाले वडा नम्वर १२, देउरालीमा रहेका सुकुम्वासीहरुलाई निस्सा बितरण गरेसँगै यो प्रक्रिया सुरु भएको हो । वडा नम्वर १२ का २० घरपरिवारलाई षडानन्द नगरपालिकाले निस्सा वितरण गरेको वडाध्यक्ष राजेश कटवालले बताउनुभयो । वडाको अर्चले, मगर गाउँ, निगुरे लगायतका क्षेत्रमा वसोवास गर्दै आएका भुमीहिनलाई निस्सा वितरण गरेको वडाध्यक्ष कटवालकाे भनाई रहेको छ ।
सामुदायिक वनको जग्गामा बस्दै आएका भुमीहिनलाई वन मन्त्रालयको सिफारिसमा मन्त्री परिषदले निर्णय गरेपछि धनीपुर्जा पाउने व्यवस्था रहेको छ । सुकुम्वासीहरुलाई षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्र कुमार उदासले निस्सा बितरण गर्नुभयो । नेपाल सरकार भुमी आयोगको कार्यबिधी अनुसार जग्गाको पहिचान गरी धनीपूर्जा प्रदान गर्ने प्रकृया शुरु भएको नगर प्रमुख उदासले बताउनुभयो ।
सो क्रममा नगरपालिकाले वडा तहबाट सुरु गरेको योजना सम्झौता अन्तर्गत षडानन्द नगरपालिका १२ मा पनि स्थानीय वडामै योजनाको सम्झौता भएको छ । यस आर्थिक बर्षदेखि षडानन्द नगरपालिकाले दुर्गम वडाका योजना वडामै सम्झौता गर्ने कार्यक्रम सुरु गरे अनुसार देउरालीमा पनि योजनाहरु सम्झौता गरिएको हो । वडाका नौ मध्ये सात वटा ५० हजार देखि १२ लाखसम्मका योजना सम्झौता भएको वडाध्यक्ष कट्वालले जानकारी दिनुभयो ।
पालिकाले केन्द्र भन्दा टाढा रहेको वडाहरुको योजना सम्झौता स्थानीय वडा मै गर्ने निर्णय गरेको छ ।