Thursday, December 5, 2024
समाजविवाह भोजमा हुने खर्चबाट बुद्धको मूर्ति स्थापना

विवाह भोजमा हुने खर्चबाट बुद्धको मूर्ति स्थापना

हेटौँडा- मकवानपुरका क्रियाशील सञ्चारकर्मी प्रताप विष्टले आफ्नो छोराको विवाह भोजमा लाग्ने खर्चबाट बुद्धको मूर्ति स्थापना गरका छन् । समाजमा विवाह, व्रतबन्ध लगायतका शुभ कार्यका नाममा फजुल खर्च गर्ने प्रवृत्ति बढ्दै गएको समयमा पत्रकार विष्टले छोराको विवाह भोजमा लाग्ने खर्चबाट हेटौँडा उपमहानगरपालिका ९ स्थित त्रिवेणी धाममा बुद्धको मूर्ति स्थापना गरेका हुन् ।

त्रिवेणी धाम परिसरमा बुद्ध मूर्ति स्थापनामा १२ लाख रुपैयाँभन्दा बढी लागेको बिहीवार बुद्ध मूर्ति अनावरण कार्यक्रममा जानकारी गराइएको थियो। बुद्ध मूर्तिको हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले संयुक्तरूपमा अनावरण गरेका थिए ।

नेपाल पत्रकार महासंघ बागमती प्रदेशका पूर्व अध्यक्षसमेत रहेका विष्टले समाजमा परिवर्तनको सुरुवात आफैँबाट गर्नुपर्ने सन्देश दिन आफ्नो जेठो छोरा र कान्छो छोरा दुवैको विवाहमा भोज भतेर गर्ने परम्परालाई तोड्दै उक्त रकम सकारात्मक कार्यमा लगाएको जानकारी दिए । पत्रकार विष्टले यसअघि जेठो छोराको विवाहमा समेत विवाह भोजमा हुने खर्च पाँच लाख रुपैयाँ हेटौँडा ९ स्थित मानव सेवा आश्रमको भवन निर्माणमा सहयोग गरेका थिए ।

साथै विष्टले नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको पुस्तकालयका लागि एक लाख रुपैयाँ प्रदान गरेका थिए । कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाई, शिक्षासेवी देवप्रसाद श्रेष्ठलगायतले फजुल खर्चले भ्रष्टाचार बढ्ने भन्दै समाजका अगुवाहरूले उदाहरणीय बनेर काम गर्नुपर्नेमा जोड दिए ।

छोरा डा. घोषणा विष्ट र सुजता कार्कीबीचको विवाहको अवसरमा पत्रकार विष्टले आफन्तलगायतका सीमित व्यक्तिलाई आमन्त्रण गरी भव्य भोजको सट्टा त्रिवेणी धाम परिसरमा फापरको जेरी, तरकारी र पुरीको व्यवस्था गरेका थिए ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img