हेटौंडा- आईतवारदेखी सुरु भएको चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला फागुन ८ गतेसम्म हेटौंडामा चल्दैछ। संघ स्थापनाको २५ वर्ष पुरा भएको अवसरमा संघलेमा आयोजित भेलामा सिनेमा र पर्यटनसँग सम्बन्धित विभिन्न क्षेत्रका ११ वटा सेसन सञ्चालन गरिने जनाईएको छ ।
सिनेमा पर्यटनको आधारलाई अघि सार्दै संघले राष्ट्रिय भेलामा सिनेमा संवाद, अन्तरक्रिया, कार्यशाला, गोष्ठी, कार्यपत्र प्रस्तुतलगायतका विभिन्न कार्यक्रमहरु गरिने संघले जनाएको छ । स्थानीय ठाउँहरुलाई नेपाली सिनेमा मार्फत पर्यटन प्रवर्द्वन गर्ने उद्देश्यले राष्ट्रिय भेलाको आयोजना गरेको संघका अध्यक्ष समीर बलामीले बताए ।
उद्घाटन कार्याक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले चलचित्र क्षेत्र नेपाली संस्कृति र पहिचानसँग जोडिएको बताएकी छन्। उनले राज्यले चलचित्र क्षेत्रको विकासका लागि ऐन निर्माण गरेर विकासमा उच्च मनोबलसहित काम गर्नुपर्ने बताइन्।
पर्यटकीय हिसाबले मकवानपुर महत्वपुणर् रहेको र फिल्म स्टुडियो बनाउन हेटौंडा उपमहानगरपालिकाले जग्गा उपलब्ध गराउने उनले प्रतिवद्धता व्यक्त गरिन् । बोर्डले नेतृत्व लिएमा उपमहानगरपालिकाले आर्थिक तथा समाजिक रुपमा सहयोग गर्ने उनको भनाई छ । मुलुकमा विकासमा फड्को मारेपनि जनता सन्तुष्ट नरहेको उनले बताइन् । राज्यले व्यक्तिको जिवनस्तर, आर्थिक उपार्जन, उत्पादनमा काम गर्नुपर्ने मेयर लामाले बताइन् ।
उद्घाटन कार्याक्रमलाई सम्बोधन गर्दै बिशेष अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्रकर्मी र पत्रकारबीचको साझेदारी कमजोर बन्दै गएको बताए। चलचित्र ऐन निर्माणमा ढिलाइ हुँदा चलचित्र क्षेत्रको विकास प्रभावित भएको र यसका लागि चलचित्र विकास बोर्डले पहल गरिरहेको उनको भनाइ छ। उनले चलचित्रलाई विश्वव्यापी बनाउन पत्रकारको महत्वपूर्ण भूमिका रहेको बताए। विदेशी चलचित्रको आक्रमणबाट बचाउन र नेपाली चलचित्रलाई प्रोत्साहन गर्न पत्रकारहरुसँग ठूलो जिम्मेवारी रहेको उनको भनाइ छ।
उनले चलचित्र क्षेत्रको विकासका लागि सबै पक्षसँग सहकार्य गर्न आग्रह गरे। चलचित्र निर्माणका लागि आवश्यक पूर्वाधारको विकास गर्नुपर्नेमा पनि उनले जोड दिए। चलचित्र क्षेत्रको विकास नभए चलचित्रकर्मी र पत्रकार दुवैको अस्तित्वमा खतरा पर्ने उनको भनाइ छ। त्यसकारण सबैले मिलेर यस क्षेत्रको विकासमा लाग्नुपर्नेमा उनले जोड दिएका छन्।
उद्घाटन कार्याक्रमलाई सम्बोधन गर्दै बिशेष अतिथि विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले चलचित्र क्षेत्रले सेवा क्षेत्रको रुपमा मान्यता नपाउँदा समस्या भएको बताए।
उद्घाटन कार्याक्रमलाई सम्बोधन गर्दै बिशेष अतिथि बागमती प्रदेश संचार रजिष्ट्रार रेवती सापकोटाले प्रदेश सरकारले चलचित्र क्षेत्रको विकासका लागि कानुन निर्माण गर्ने तयारी गरेको जानकारी गराए । उनले चलचित्र क्षेत्रको विकासका लागि चलचित्र पत्रकार र लेखनका लागि कार्यशाला संचालन गरिरहेको बताए । एक वर्ष भित्र चलचित्र क्षेत्रमा नयाँपनको महशुस हुनेगरी काम गरिरहेको उनको भनाई छ । आगामी आर्थिक वर्षमा सिनेमा र कला क्षेत्रमा फरक फरक किसिमका कार्यक्रम प्रदेश सरकारले ल्याउने उनले बताए । स्थानीय तहमा इन्डोर स्टुडियो र रेप्टिका निर्माण गरेर अघि बढ्न सरकारले कानुनमा नै समावेश गर्ने तयारी गरिएको उनको भनाई छ ।
फागुन ६ गते भेलाको औपचारिक उद्घाटनपछि वरिस्ठ चलचित्र पत्रकार शान्ति प्रियले पाली चलचित्र उद्योगको कार्यपत्र र चलचित्र पत्रकारिता क्षेत्रको कार्यपत्र प्रस्तुत गरेका थिए भने उनको प्रस्तुतिको टिप्पणीकार नेपाल टेलिभिजनका माहाप्रबंधक फूलमान बल रहेका थिए । बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तयार पारेको चलचित्र ऐन मस्यौदा प्रदेश संचार रजिस्टार रेवती सापकोटाले प्रस्तुत गरेका थिए ।
विट पत्रकारिता र हेटौँडाका पत्रकारका लागि पत्रकार आचरसंहितामाथि छलफल, विज्ञापन बोर्डले अनलाइन व्यवस्थापक सम्बन्धी कार्यशाला, सिनेमा पर्यटन, सिनेमा बजार, मिडिया प्रमोशन र कर्पोरेट लगानी, फिल्म सेन्सर, नेपाली सिनेमाको अबको बाटो, केन्द्रीय चलचित्र ऐन र सेन्सर कार्यविधि बिषयहरुमा संवाद र अन्तरक्रिया कार्यक्रम हुनेछ ।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, सेन्सर बोर्डका अध्यक्ष तथा सहसचिव नेत्र प्रसाद सुवेदी, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल टेलिभिजनका महाप्रवन्धक फूलमान वल, बिज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाई, बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती सापकोटा, पर्यटन बोर्डका प्रबन्धक सुर्य थपालिया, सञ्चार मन्त्रालयका प्रतिनिधि, पर्यटन मन्त्रालयका प्रतिनिधिलगायत वक्ताहरुको उपस्थिति कार्यक्रममा रहेको थियो ।
यस्तै दयाराम दाहाल, नरेन्द्र महर्जन, जनक तामाङ, स्वस्तिमा खड्का, केकी अधिकारी, दिनेश डिसी, आकाश अधिकारी, निश्चल बस्नेत, अशोक प्यासी राई, मनोज पण्डित, सन्जोग बस्याल, अरुण बराल, चिरन्जिवी पौडेल, मोहन निरौला, राजु केसी, नवल खड्का, रवि अधिकारी, के एल पीडित, विदुर गिरी, शान्तिप्रिय, ध्रुव लम्साल, प्रकाश सायमी, डब्बु क्षेत्रीलगायत चलचित्रकर्मी तथा पत्रकारहरुको उपस्थिति रहने जनाईएको छ ।