पाल्पा | पाल्पाको सत्यवती बज्यैसँग चिच्चाएर मागेको वरदान पूरा हुने भन्दै निकै टाढा-टाढाबाट भक्तजनहरू मन्दिरमा आउने गरेका छन् । सत्यवती बज्यैसँग रातिमा मात्र चिच्चाएर वरदान माग्ने प्रचलनलाई आजभोलि दिउँसोमा पनि वर माग्ने गरिएको छ । सत्यवती मन्दिरको किनारमा ताल रहेकाले भक्तजनहरूले तालको वरिपरि घुम्दै चिच्चाएर वरदान माग्ने गर्दछन् ।
सत्यवती मन्दिर नजिकै तालमा कार्तिक शुल्क चतुर्दशीको दिन सत्यवती बज्यैलाई सम्झेर बाँसको लिङ्गो अगाडि चिच्चाएर वरदान माग्ने र अर्काे दिन बिहान उज्यालो नहुँदै पूर्णिमाको दिन गाडेको लिङ्गो उठाएर घरमा ल्याउने प्रचलन रहँदै आएको छ ।
दर्शनका लागि र वर माग्न मन्दिर पुगेका चन्द्रकान्त खनाल र केशव खत्रीले चिच्याएर वर मागे पूरा हुने र कतिपय मागेका वरहरू पूरा हुँदै आइरहेको बताए । धार्मिक आस्थाका कारण परापूर्वकालदेखिको परम्परालाई मान्दै आएको र आफूले मागेका वरहरू सानैदेखि पूरा हुँदै आएको उनीहरूकाे भनाइ छ ।
भक्तजनले मागेका कुराहरू सत्यवती बज्यैले पूरा गरिदिने जनविश्वासका आधारमा राँगा, कुखुरा, हाँस, बोकाको बली दिने वा त्यतिकै जंगलमा छाडिदिने प्रचलन रहँदै आएको छ । सत्यवती मन्दिरमा चिच्चाएर वरदान माग्न पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी, कास्की, चितवन, दाङ, पर्वत वागलुङ, म्याग्दीका साथै भारतको गोरखपुर, लखनउ लगायतका क्षेत्रबाट आएका भक्तजनको भीड छ ।
वर्षको एकपटक मात्र पुग्ने धार्मिक पर्यटकलाई १२ महिना नै आकर्षित गर्न गुरुयोजना बनाएर काम गर्ने तयारी गरेको तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठ बताउँछन् । उनले १२ महिना पर्यटकलाई ल्याउन सके सो क्षेत्रको विकास हुन समय नलाग्ने बताए । उनले अहिले गाउँपालिकाले मन्दिर व्यवस्थापनका लागि बजेट छुट्याएर अघि बढेको र आगामी दिनमा यसको संरक्षणका लागि पनि विशेष पहलकदमी लिने जिकिर गरे ।
सिद्धार्थ राजमार्ग तानसेन–बुटवल सडक खण्डको झुम्सा पानी मिलबाट करिब १ घण्टाको उकालो पैदल दूरी पार गरी सत्यवती मन्दिरमा पुग्न सकिन्छ । परम्पराकालमा रातिमा मात्र दर्शन गर्ने प्रचलन परिमार्जन हुँदै अहिले दिउँसो र राति दुवै समयमा पूजाआजा गर्ने र वर माग्ने प्रचलन सुरु भएको छ ।