काठमाडौं | इलाम २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जुन अपेक्षा थियो, त्यसअनुरूप चल्न सकेन। मतदाताको आशा रास्वपा फरक हुन्छ भन्ने थियो, तर यो पुरानैजस्तो भएपछि मत अरूतिर नै गए। त्यसैले घन्टी खासै बज्ने सकेन । स्वाभाविक रूपमा यसले इलामको उपनिर्वाचनमा निराशाजनक प्रदर्शन मात्रै गर्यो। कारण यस्ता हुन् सक्छन;
१. मन्त्री बन्ने मरिहत्ते: रास्वपा नेताहरूलाई मतदाताहरूले “नयाँ दलको बहानामा पुरानै अभ्यासमा फर्केका” रूपमा देखे। चुनावअघि प्रतिपक्षीय भूमिकामा रहने बताएका रास्वपाले चुनाव जितेपछि गठबन्धन सरकारमा सहभागी हुने निर्णय गर्यो। यसले मतदातामा निराशा पैदा गर्यो। रवि लामिछाने मन्त्री बन्ने लोभमा फसे। यसैले मतदाताले उनीहरूलाई पुरानै दलका नेताजस्तै स्वार्थी ठानेका हुन्।
२. नवप्रवेशी र असङ्गत उम्मेदवार: रास्वपाले इलाम-२ मा मिलन लिम्बू नामक एक पहिचानवादी कार्यकर्तालाई नै उम्मेदवार बनाइदियो। जसले मतदातालाई भ्रममा पार्यो किनभने रास्वपा पहिचानविरोधी दलको छवि बनाउन खोजेको थियो। मिलन आफैँ केही दिन अगाडिसम्म रास्वपाको विरोधमा थिए। यसरी दल र उम्मेदवारबीच विचारधारागत असङ्गतिले मतदातामा विभ्रम सिर्जना भयो।
३. सहकारी काण्ड: रास्वपा सभापति रवि लामिछाने सहभागी रहेको गोर्खा मिडिया प्रालि र ग्यालेक्सी टेलिभिजनबाट भएको सहकारी लुटपाट काण्डले उनको नैतिक पतन देखाइदियो। लामिछानेले आफू निर्दोष भएको दावी गरेपनि उनले जीबी राईलाई अझै पक्राउन नसकेको विषयले मतदातालाई झन् आश्चर्यचकित बनायो। लामिछाने र राईबीचको निकट सम्बन्ध मतदातालाई थाहा थियो।
४. असहिष्णु कार्यकर्ता: रास्वपा कार्यकर्ताहरूले सामाजिक सञ्जालमा विपक्षी मतदाता तथा आलोचकहरूलाई निरन्तर गालीगलौज गरिरहेका थिए। उनीहरूले पुरानै दलका झोले र अरिंगालजस्तो असहिष्णु व्यवहार देखाए। गत निर्वाचनमा स्वतन्त्र रूपमा मत दिने मतदाता यस्तो व्यवहारले घ्रृणित भए र विस्तारै रास्वपाबाट टाढिए।
५. पुरानैजस्तो नयाँ दल: मतदाताहरूलाई पुरानै दलजस्ता नयाँ दलको खाँचो थिएन। उनीहरूलाई देश बनाउने, पूर्ण वैकल्पिक राजनीतिक शक्तिको खोजी थियो जसको सोच, संस्कृति र कार्यशैली फरक होस्। रास्वपा पुरानै दलको नयाँ संस्करण जस्तो देखियो। मतदातालाई लाग्यो- जब पुराना दल नै छन् भने उनीहरूकै संशोधित दलको के औचित्य रह्यो र ? यसैले रास्वपालाई उनीहरूले विकल्पका रूपमा लिएनन्।



