काठमाडौँ | ‘बेबी प्लान सहित अमेरिका उडिन् रेखा थापा ।’
यो र यस्तै शीर्षकका समाचार वि.सं. २०८० मङ्सिर अन्त्यतिर प्रायः सञ्चार माध्यमको हेडलाइन बन्यो । उनले निर्माण तथा अभिनय गरेको फिल्म उपहार फागुन २५ मा प्रदर्शन हुँदै थियो । आफूले करोड लगानी गरेर निर्माण गरेको फिल्म समेत छाडेर उनी सन्तानका लागि अमेरिका उडेकी थिइन् ।
रेखा, नेपालको चर्चित अभिनेत्री मात्रै होइन, सक्रिय राजनीतिकर्मी पनि हुन् । देशकै पाँचौँ ठुलो दल राप्रपाकी केन्द्रीय सदस्य समेत रहेकी उनी गएको प्रतिनिधिसभाको निर्वाचनमा मोरङ क्षेत्र नं. ३ बाट सुनिल शर्मा विरुद्ध चुनावी मैदानमा हाम फालेकी थिइन्, भलै फराकिलो मतान्तरले हार बेहोरेको किन नहोस् ।
राप्रपाकै महामन्त्री पदमा समेत प्रतिस्पर्धा गरेकी थिइन्, उनले। त्यहाँ पनि असफलता बेहोरेकी रेखा राष्ट्रप्रेमका बारेमा भाषण गरेर नथाक्ने नेतृ समेत हुन् । तर यी सबैलाई छाडेर उनी आफूले जन्म दिने सन्तानलाई विदेशी नागरिक बनाउन अमेरिका उडिन् ।
अर्को उदाहरण हेरौँ । पत्रकार, प्रस्तोता थिए, नारायण श्रेष्ठ । उनीसँग नाम थियो, काम थियो ।
बिबिसीले उत्पादन गरेको कार्यक्रम साझा सवाल, चर्चित कार्यक्रम मध्ये एक थियो । तर उनी एकाएक सबै छाडेर अमेरिका हानिए । उतै बसे, उतै काम गर्न थाले ।
पत्रकारितामा नाम र दाम दुबै कमाएका उनी सन्तानको भविष्यको चिन्ता गर्दै अमेरिका पलायन भएका थिए । फलस्वरूप अहिलेको पुस्ताले उनको नाम चिन्दैन । उनीजस्तै वर्तमान छाडेर भविष्यको चिन्तामा अमेरिका पलायन हुनेको सङ्ख्या औँलामा नगन्य छन् ।
रेखा थापा र नारायण श्रेष्ठ त उदाहरण मात्रै हुन् । आफ्नो र आफ्ना सन्तानको उज्ज्वल भविष्यका लागि बिदेशीने नेपालीको सङ्ख्या दिनानुदिन बढिरहेको छ । जसले गर्दा अमेरिकामा सन्तान जन्माउनेहरूको सङ्ख्यामा पनि वृद्धि भइरहेको छ ।
नेपाल सरकारको तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ अनुसार विभिन्न जिल्लाबाट अमेरिका र क्यानडामा पुगेका नेपालीले ६ सय ७६ बच्चा जन्माएका छन् ।
अमेरिका र क्यानडामा जन्मिएका बच्चाहरू अब नेपाली रहनेछैनन् । उनीहरूलाई जन्मिएकै देशले आफ्नो नागरिक बनाउनेछ ।
सन्तान जन्माउनेमा बाग्मती अगाडी
त्यहाँका उपभोक्ताले पाउने सेवा सुविधाका कारण पनि नेपालीहरूको अमेरिका मोह फराकिलो बन्दै गइरहेको छ । यही वैशाख महिनामा मात्रै २८ जना नेपाली पहिलो पटक अमेरिका पुगेका छन् । दोहोराएर अमेरिका जानेको सङ्ख्या ३१ रहेको वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाएको छ ।
तर यसरी अमेरिका जानेहरूमा बाग्मती प्रदेश अगाडी रहेको छ । त्यसैले २०७८ सालको जनगणना अनुसार अमेरिकामा बच्चा जन्माउनेहरूमा बाग्मती प्रदेश अगाडी देखिएको छ । यसमा पनि दुई जिल्ला काठमाडौँ र ललितपुरबाट अमेरिका गएकाहरूले सबैभन्दा धेरै बच्चा जन्माएका छन् ।
कति छन् नेपाली?
वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार गएको वैशाख महिनामा मात्रै बिदेशिने नेपालीको सङ्ख्या ७० हजार ६ सय ३७ जना रहेको छ ।
त्यसो त, सन् १९७० को दशकबाट नेपालीहरू अमेरिका जान थालेको बताउँछन्, इतिहासविद् डि.बि क्षेत्री । त्यो समयमा विभिन्न विषय अध्ययनका लागि छात्र वृत्तिमा सरकारकै सिफारिसमा नेपालीहरू अमेरिका पुगेको देखिन्छ ।
सन् १९८० को दशकमा अध्ययन गर्न गएका नेपालीहरू केही फर्किए त केही उतै बसे ।
यतिन्जेलसम्म नेपालमा सबै नेपालीको हातमा पासपोर्ट सजिलै हुँदैनथ्यो । क्षेत्रीले भने, सन् १९९० को दशकमा नेपाल गृहयुद्धमा फस्यो, जसले गर्दा देशमा शान्ति सुरक्षा नभएको भन्दै नेपालीहरू अमेरिका लगायत अन्य देशमा गए ।
सन् २००० को दशकमा आएर आम मानिसको पहुँचमा राहदानी आइपुग्यो । पहिले सीमित मात्रामा भएका विमानहरू पनि बढे । यसले नेपालीहरू देश छाडेर विश्वका जुनसुकै देशमा जान सक्ने अवस्था बन्यो ।
सन् २०११ बाट भने अमेरिकाले डिभी खुलाएर विभिन्न देशका नागरिकलाई आफ्नो देशमा लैजान सुरु गर्यो । त्यसैको परिणाम स्वरुप सन् २०२४ को ई डिभी नेपाल सार्क राष्ट्रमध्ये सबैभन्दा धेरै डिभी स्वीकृत हुने देशका रूपमा रहन गयो ।
स्वतन्त्रता खोज्दै जाँदा...
अमेरिकामा अध्ययन गरेर फर्केका राजनीतिक विश्लेषक हरि शर्मा भने स्वतन्त्रता खोज्दै अमेरिका लगायतका देशहरूमा जाने गरेको बताउँछन् । उनले भने, अमेरिकाको अर्को पर्याय स्वतन्त्रता पनि हो । ठुलो देश छ, थरथरीका भाषाभाषी र समाज छ । त्यहाँ पुगेपछि कसैले कहाँबाट आइस्, कुन जातको भनेर सोध्दैनन् । यही स्वतन्त्रताको खोजीमा अमेरिका जानेको सङ्ख्या बढ्दै गइरहेको छ ।
राजनीतिक वितृष्ण, अवसरको अभाव लगायत त बाहाना मात्रै भएको भन्दै उनले भने, नेपालमा पनि अवसर छ, तर त्यहाँ पुगे अझै राम्रो गर्ने वातावरण बन्न सक्छ भन्ने हेतुले नेपालीहरू अमेरिका पुग्न चाहन्छन् ।
बाहिरबाट हेर्दा सुन्दर तर भित्रको कुरूपता नदेखिएकाले पनि नेपालीहरू बलेको बत्तीमा पुतली झ्याम्मिए जसरी अमेरिकाको सपनामा मग्न रहेको उनको भनाई छ ।
पहिले गाउँबाट शहर छिर्ने प्रवृति जस्तै, अहिले देश छाड्ने प्रवृति भएको र यसको दोष देशका राजनीतिकर्मीहरूले खेपिरहेको पनि शर्मा बताउँछन् ।
माथीको टेवल अनुसार, एसियाका मुख्ये डिभी पर्ने १० मुलुक मध्ये नेपाल दोस्रो स्थानमा परेको छ । २०२३ सालको डिपार्टमेन्ट अफ स्टेट, ब्युरो अफ कन्सुलर अफेयर्सको तथ्याङ्क अनुसार ३ हजार आठ सय ८ नेपालीले ई डिभी प्राप्त गरेका छन् ।
ज्यान जोखिममा राखेर अमेरिका
राजनीतिक विश्लेषक हरि शर्माको भनाइमा सहमति जनाउँछन् , मानवशास्त्री डम्बर चेमजोङ । भारतले सीमा मिच्यो भन्दा रगत उमाल्ने नेपालीहरूको राष्ट्रभक्त ई डिभी भर्ने समयमा देखिने भन्दै उनले भने, यदि नेपालको सबैलाई अमेरिका जान स्वीकृति दिने हो भने, कोही यहाँ बस्न रुचाउँदैन ।
अमेरिकामै अध्ययन गरेर फर्केका चेमजोङले अमेरिकामा बन्दै गरेको मेल्टिनकट सोसाइटी (सबै देशको उत्कृष्ट संस्कृति समावेश गरेर बनाइएको समाज) नेपाल मात्रै हैन विश्वकै आकर्षक गन्तव्य रहेको बताए ।
अहिले नेपालीहरू शिक्षा, कामको अवसर र उपभोक्ताको हिसाबले सबैको आकर्षण रहेको उनको भनाई छ ।
सुरुदेखि नै अध्ययनका लागि नेपालीहरू अमेरिका जाने गरेको भन्दै अहिले पनि पढाइका लागि एक नम्बरमा रहेको बताए । २०२२/२३ मा अमेरिकी दुतावासले निकालेको तथ्याङ्क अनुसार १० लाख ५७ हजार एक सय ८८ विद्यार्थी अमेरिकामा अध्ययन गरिरहेको छन् ।
घरबाट निस्केपछि राम्रै ठाउँ जाउँ भन्ने सबैलाई हुन्छ, फलस्वरुप मानिसहरूको रोजाई अमेरिका हुने गरेको उनको भनाई छ ।
त्यसैले कहिले डंकी रुट हुँदै त कहिले भिजिट भिसामा, कहिले कलाकार बनेर त कहिले व्यापारी बनेर अमेरिका पस्ने क्रम जारी छ । यसरी अमेरिका हिँड्नेमा कोही पानामा जङ्गलमा हराउँछन्, कोही लुटेरा समूहको चङ्गुलमा पर्छन् । अनेक थरी दुख सहेर अमेरिकाको सिमानाबाट फर्कने नेपालीको सङ्ख्या पनि बर्सेनी बढ्दै गइरहेको छ ।
अमेरिकाकी सीमा सुरक्षा तथा सीमा नियन्त्रण सीविपीले पक्राउ गर्ने नेपालीको सङ्ख्या पनि बर्षेनि बढिरहेको युएस सिटिजनसीप एण्ड इमिग्रेसन सर्भिसेस युएससीआइएस को तथ्याङ्कमा उल्लेख गरिएको छ ।
कोभिडको समयमा गैरकानुनी बाटो हुँदै अमेरिका जाने नेपालीको सङ्ख्या केही मात्रामा घटे पनि २०२३ सम्म आउँदा बढ्न गएको देखिन्छ ।
- बिआरपी समूह (बसन्त भण्डारी , पुष्पा थपलिया , राजा झा)