काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)को भाषा तथा आमसञ्चार विभागले आयोजना गर्न लागेको दुई दिवसीय अन्तर्राष्ट्रिय सङ्गोष्ठीको सम्पूर्ण तयारी पुरा भएको छ। ‘साधारणीकरण सञ्चार-ढाँचाको दुई दशक’ शीर्षकमा विश्वविद्यालयको स्कुल अफ आर्ट्स परिसर, हात्तीवन, ललितपुरमा आयोजना हुने यस सङ्गोष्ठीमा विभिन्न विषयमा गरिब ३६ वटा कार्यपत्र प्रस्तुत हुनेछन्।
सङ्गोष्ठीको उद्घाटन सत्रमा नयाँ दिल्लीस्थित साउथ एशियन युनिभर्सिटीका कुलपति प्रा. के.के. अग्रवालको प्रमुख आथित्यता रहनेछ भने अमेरिकाको युनिभर्सिटी अफ हवाईका प्रा. योशिताका मैकले मुख्य वक्ताको भूमिका निर्वाह गर्नेछन् । केयूका उपकुलपति प्रा. भोला थापाको अध्यक्षता उद्घाटन सत्र संचालन हुने छ ।
सङ्गोष्ठीमा डि-वेस्टर्नाइजेसन, एशियासेन्ट्रिसिटी एण्ड रिओरियन्टेसन, नाट्यशास्त्र एण्ड वाक्यपदीय, बियोण्ड दि बाउन्डरिज, फ्रम एन्सियन्ट विज्डम टु डिजिटल डाइनामिक्स, पर्सुयट अफ सहृदयता र कम्युनिकेसन प्रयाक्सिस विषय/विधामा प्रस्तुतीकरण हुनेछन्।
त्यसैगरी, प्लेनरी सेसनमा पनि ‘टु डिकेड्स अफ दि साधारणीकरण मोडल अफ कम्युनिकेसन एण्ड फ्युचर प्रस्पेक्टस’ र ‘साधारणीकरण मोडल अफ कम्युनिकेसन एण्ड मल्टिडिसिप्लिनरी डाइनामिक्स’ विषयमा गहन विमर्श हुने जनाईएको छ ।
गोष्ठीको आयोजना, सञ्चालन र व्यवस्थापनका लागि सहप्राध्यापक डा. सुधांशु दाहालको संयोजकत्वमा गठित मूल समिति तथा त्यसमातहतका १० वटा उपसमितिहरूले भूमिका निर्वाह गरिरहेका छन्।
सन् २००३ मा केयूका सहप्राध्यापक डा. निर्मलमणि अधिकारीद्वारा अभिनिर्मित ‘सञ्चारको साधारणीकरण ढाँचा’ले दुई दशक पुरा गरेको अवसरमा यो अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गरिएको हो। उक्त सञ्चार ढाँचा हाल विश्वका अनेकौँ विश्वविद्यालयहरूमा औपचारिक पाठ्यक्रममा समावेश गरी पठनपाठन भइरहेको छ। साथै, यसबारे स्नातकोत्तर तथा पीएचडी तहमा शोधार्थीहरूले अनुसन्धान पनि गर्दै आएका छन्।
जेष्ठ १३ गते सञ्चालन हुने यो अन्तर्राष्ट्रिय सङ्गोष्ठी ‘हाइब्रिड मोड’मा हुनेछ। केही प्रस्तुतकर्ताहरूले भर्चुअल माध्यमबाट र केहीले हात्तीवनमै उपस्थित भएर आफ्ना कार्यपत्र प्रस्तुत गर्नेछन्।