भोजपुर | अविरल वर्षाका कारण ईर्खुवा हाईड्रो पावरबाट वाढीले बगाएको दुवै मजदुरको शव फेला परेको छ । भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधिन इर्खुवा खोलाको ईखुवा हाइड्रोपावरमा कार्यरत दुई मजदुरलाई मंगलबार राति डेढ बजेतिर आएको बाढीले सुतिरहेको अवस्थामा बगाएको थियो ।
बेपत्ता भएका दुवैको शव फेला परेको र ठेगानासहित सनाखत भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दिपक श्रेष्ठले जानकारी दिए । हाइड्रोपावरमा कार्यरत मजदुर बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका वडा नम्वर पाँचका ३० बर्षका रमेश थारु र सोही ठाउँको छ नम्बर वडाका ३२ वर्षिय श्याम कुमार थारुको शव फेला परेको हो ।
षडानन्द नगरपालिकास्थित अरुण नदीको सतिघाट किनारमा रमेशको शव फेला परेको थियो । श्यामको सोही नगरपालिकाको वडा नम्बर १ मझुवास्थित नदी किनार नजिकै शव भेटिएको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।
बाढीमा परेका २६ वर्षिय राम किसन थारुको भने उद्धार गरिएको थियो । साल्पासिलिछो गाउँपालिका वडा नम्वर ४ गोथे बजार स्थितमा रहेको ईखुवा खोलामा आएको बाढीले हाईड्रोपावरमा कार्यरत तीनै जना मजदुरहरुलाई बाढीले बगाएको थियो ।
बाढीले निर्माणाधीन ४.३ मेगावाटको फेदी थुलुङ खोला र १४.५ को मेवा अप्पर इर्खुवा खोलामा ठूलो क्षति पुर्याएको छ । षडानन्द नगरपालिका २ वस्ने वर्ष ६५ की चन्द्र कुमारी दर्जीलाइ बाढीले बगाएपछि स्थानीयले २ सय मिटर तल बाट उद्धार गरेका थिए ।
निजको एक तले घर र गोठ बगाएको छ । गोठ बगाउँदा एक हल गोरु २ वटा बाख्रा, कुखुरा गरी ६ लाखको क्षती भएको छ भने सोहि ठाउँकी ७० वर्षकी निर्मला राईको एक तले घर, नगद ५० हजार, ४ तोला सुन, ६ तोला चादी, सुगुर र कुखुरा गरी १० लाखको क्षती भएको प्रहरीले बताएको छ ।
बाढीले झोलुङ्गे पुल, सडक पुलहरु र लघु जलविद्युतमा पनि क्षति पुगेको छ । स्थानीय, सुरक्षाकर्मी, प्रशासन, स्थानीय पालीकाहरु लागायतको सहयोगमा थप उद्दार, खोजीकार्य जारी राखेका थिए ।
प्रहरी चौकी चौकीडाँडाबाट करिव तीन किलोमिटर पश्चिम पर्ने घटना स्थलमा इलाका प्रहरी कार्यालय दिङलाबाट प्रहरी निरीक्षक कैलाश कुमार अधिकारीको कमाण्डमा ४ जनाको टोली गएको छ भने सशस्त्र प्रहरीको अस्थाई बेस क्याम्प चौकीडाँडाबाट प्रयोजन घिमिरेको कमाण्डमा ७ जनाको टोली खोजीको लागि खटिएका थिए ।