देशजनताको सेवामा सांसदको तलब: हेटौँडा आँखा अस्पताललाई १० लाख रुपैयाँको सहयोग

जनताको सेवामा सांसदको तलब: हेटौँडा आँखा अस्पताललाई १० लाख रुपैयाँको सहयोग

हेटौँडा | जनताप्रति गरेको वाचा पूरा गर्दै, मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ का संघीय सांसद दीपक बहादुर सिंहले आफ्नो एक वर्षको तलब र थप रकम समेत गरी झन्डै १० लाख रुपैयाँ हेटौँडा सामुदायिक आँखा अस्पताललाई सहयोग गरेका छन्।

मंगलबार आयोजित एक विशेष कार्यक्रममा सांसद सिंहले ९ लाख ९९ हजार ९९९ रुपैयाँको चेक अस्पताललाई हस्तान्तरण गरे। यो सहयोगले स्थानीय स्वास्थ्य सेवा सुधारमा महत्त्वपूर्ण योगदान पुर्‍याउनुका साथै जनप्रतिनिधि र समुदायबीचको सम्बन्धलाई थप सुदृढ बनाएको छ।

सहयोग रकमको चेक तिलगंगा आँखा अस्पतालका कार्यकारी निर्देशक डा. सन्दुक रुइत र अस्पतालका संरक्षक एवं तिलगंगा प्रतिष्ठानका सदस्य सिद्धिलाल श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो। सांसद सिंहले आफ्नो एक वर्षको तलब ६ लाख १२ हजार ९९९ रुपैयाँमा थप ३ लाख ८७ हजार रुपैयाँ जोडेर यो रकम तयार पारेका हुन्।

सहयोग रकमको चेक हस्तान्तरण गर्दै सांसद दीपक बहादुर सिंह ।

चेक हस्तान्तरण गर्दै सभापति सिंहले भने, “यो कार्यले मेरो एउटा चुनावी वाचा पूरा भएको छ। मैले चुनावका बेला जनतासँग पहिलो वर्षको तलब हेटौँडा सामुदायिक आँखा अस्पताल मार्फत जनताको सेवामा लगाउने प्रतिबद्धता जनाएको थिएँ। आज त्यो पूरा भएको छ।”

तिलगंगा आँखा अस्पतालका कार्यकारी निर्देशक डा. रुइतले यस सहयोगको महत्त्व बताउँदै भने, “यो सहयोगले विशेषगरी सीमान्तकृत समुदायका जनतालाई लाभ पुग्नेछ। सांसद सिंहको यस अग्रगामी कदमको हामी उच्च प्रशंसा गर्दछौं।”

कार्यक्रममा हेटौँडा सामुदायिक आँखा अस्पतालका प्रमुख डा. सुनिल थकाली र हेटौँडा उपमहानगरपालिकाका निवर्तमान प्रमुख हरि बहादुर महत लगायतको उपस्थिति रहेको थियो। डा. थकालीले यस सहयोगले अस्पतालको सेवा विस्तारमा ठूलो मद्दत पुग्ने बताए।

यो सहयोगले स्थानीय स्वास्थ्य सेवामा टेवा पुग्नुका साथै जनप्रतिनिधि र स्वास्थ्य संस्थाबीचको सहकार्यको एक उदाहरण प्रस्तुत गरेको छ। सांसद सिंहको यो कदमले जनताको सेवामा प्रतिनिधिहरूको प्रतिबद्धता देखाएको छ र अन्य जनप्रतिनिधिहरूलाई पनि यस्तै सामाजिक कार्यमा प्रेरित गर्ने आशा गरिएको छ।

स्थानीय नागरिक गाकुल प्रसाद देवकोटाले भने, “सांसद सिंहको यो कार्य सराहनीय छ। यसले अन्य जनप्रतिनिधिहरूलाई पनि जनताको हितमा काम गर्न प्रेरित गर्नेछ भन्ने हामी आशा गर्दछौं।”

यस सहयोगले हेटौँडा सामुदायिक आँखा अस्पतालले प्रदान गर्ने सेवाहरूमा गुणस्तर वृद्धि हुने र थप बिरामीहरूले लाभ लिन सक्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img