हेटौँडा | हेटौँडा-१६, हटियाका अनिल बलामी र उनकी श्रीमती आफ्नो सन्तान, एक वर्षीय छोरा अस्मित बलामीको असामयिक निधनले गहिरो पीडामा डुबेका छन्।
ओठ नजिक सानो घाउ देखिएको र शरीरमा ज्वरो आउँ थालेपछि गत शुक्रवार दिउँसो करिब ३ बजेतिर अस्मितलाई उपचारका लागि हेटौँडा अस्पताल पुर्याएको अनिल बलामी बताउँछन् ।
हेटौँडा अस्पतालमा पुग्दा उनीहरूलाई त्यहाँको प्रशासनले अस्पतालमा कुनै बेड उपलब्ध नभएको जानकारी गरायो। तर एक नर्सले उनीहरूलाई बालरोग विशेषज्ञ डा. हरिबहादुर खड्काको सल्लाह लिन मकवानपुर सहकारी अस्पताल जान सुझाव दिइन्।
बलामी दम्पती तुरुन्तै मकवानपुर सहकारी अस्पताल पुगे। त्यहाँ डा. खड्कासँग भेट भयो। डाक्टरले अस्मितलाई जाँचेपछि भर्ना गर्नुपर्ने र दुई-तीन दिनमा ठीक हुने आश्वासन दिए।
“हामीले डाक्टरको विश्वास गरेर हाम्रो बच्चालाई यहाँ राख्यौँ,” अनिलले सम्झँदै भने। “सुरुमा सबै सामान्य छ, ठीक हुन्छ भनेका थिए। हामीलाई लाग्यो अब हाम्रो बच्चा चाँडै निको भएर घर फर्कनेछ।”
तर परिस्थिति बिस्तारै बिग्रँदै गयो। शुक्रवार राति अस्मितको अवस्था केही बिग्रियो। अनिलले नर्सहरूलाई बोलाएको बताउँछन् , तर उनीहरूको प्रतिक्रिया चित्त बुझ्दो नभएको बताए । “नर्सहरू समयमा औषधि चढाउन आउँदैनथे,” अनिलले गुनासो गरे। “बोलाउँदा पनि बेवास्ता गर्थे, मोबाइल चलाएर बस्थे।”
शनिवार बिहान मज्जाले खेलिरहेका अस्मितलाई स्लाईन-पानि दिएको अनिल सुनाउँछन् । हात अचानाक सुनिन थाल्यो, निकै बेर बोलाए पछी नर्सले आइस लगाउन सुझाएको अनिलले सुनाए । अनिलले भने, “तर, झन् सास फेर्न गाह्रो भए जस्तो गर्न थाल्यो हुन थाल्यो।”
त्रसित बुवाआमाले डाक्टरलाई बोलाए, तर कोही आएन। “मेरो छोरो आधा घण्टासम्म छटपटाइरहेको थियो,” अनिलले आँसु खसाल्दै भने। “यदि डाक्टर समयमै आएको भए, शायद उसलाई बचाउन सकिन्थ्यो।”
अन्ततः दिउँसो १२ बजे अस्पतालले अस्मितको मृत्यु भएको घोषणा गर्यो। यो खबरले बलामी परिवारलाई स्तब्ध बनायो। बुवा अनिल छातीपिट्न थाले, आमा बेहोस भइन्। “मेरो छोराको मृत्यु भएको तीन घण्टा भइसक्यो, तर डाक्टर अहिलेसम्म आएका छैनन्,” अनिलले रिसाउँदै भने।
यो दुःखद घटनाको खबर फैलिएपछि अस्मितका आफन्तहरू अस्पताल परिसरमा जम्मा भए।
प्रहरीले अस्पताल प्रशासन, डाक्टर र पीडित परिवारबीच वार्ता गराउन थाल्यो।
वार्तामा, अस्पताल प्रशासनले आफ्नो केही गल्ती स्वीकार गर्दै उपचारमा लागेको खर्च व्यहोर्ने बतायो। तर यसले पीडित परिवारलाई सन्तुष्ट पार्न सकेन।
डा. हरिबहादुर खड्काले आफ्नो पक्ष राख्दै भने, “हामी कुनै पनि बिरामीलाई मार्न चाहँदैनौं। हाम्रो लक्ष्य सधैं बिरामीलाई निको पारेर घर पठाउने हुन्छ। यो एक दुर्भाग्यपूर्ण घटना हो।”
तर अनिल बलामीले डाक्टर र अस्पताल प्रशासनको लापरवाहीले आफ्नो छोरा गुमाएको आरोप लगाए। उनले भने, “मेरो छोरा बाँच्न सक्थ्यो। तर यहाँका कर्मचारीहरूको लापरवाहीले उसको ज्यान गयो।”
यस घटनाले नेपालको स्वास्थ्य क्षेत्रमा रहेका गम्भीर समस्याहरूलाई उजागर गरेको छ। पर्याप्त संसाधनको अभाव, चिकित्सकहरूको कमी, र कहिलेकाहीँ देखिने लापरवाही जस्ता कारणहरूले गर्दा यस्ता दुःखद घटनाहरू घट्ने गरेका छन्।
वार्तामा उपस्थित रहेका हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष राम कृष्ण कोइरालाले भने, “यो घटनाले हाम्रो स्वास्थ्य प्रणालीमा रहेका गम्भीर कमजोरीहरूलाई देखाएको छ। हामीले यस्ता घटनाहरू रोक्न तत्काल कदम चाल्नुपर्छ।”
लामो वार्ता र छलफलपछि अन्ततः अस्पताल प्रशासन र बलामी परिवारबीच केही सहमति भयो। अस्पतालले लागेको उपचार खर्च व्यहोर्ने र दोषी पाइएका कर्मचारीहरूलाई कारबाही गर्ने प्रतिबद्धता जनाएको परिवारले बताएको छ ।
यसपछि परिवारले अस्मितको शव बुझेर अन्त्येष्टिका लागि लगे। तर उनीहरूको मनमा अझै पनि धेरै प्रश्नहरू छन्।…
यो हेर्नुभयो?