दोलखा | रामेछापको दोरम्बा शैलुङ गाउँपालिका-३ टोकरपुरको लेकखर्क पहिरोमा परी ६ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार पहिरोमा परी मृत्यु हुनेहरूमा स्थानीय विद्यालयकी बाल कक्षा शिक्षिका ३० वर्षीया चण्डिका थापामगर र उनका १८ महिने छोरा आमस थापा मगर रहेका छन् ।
यस्तै ४० वर्षीया उर्मिला पहरी,१७ वर्षीय सन्दीप पहरी,१८ वर्षीय विज्ञान पहरी र १४ वर्षीय सन्तोष पहरीको पनि शव फेला परेको छ । चण्डिकाको घरबाट १० वर्षीया अन्जना पहरीलाई घाइते अवस्थामा उद्धार गरिएको छ ।
प्रहरीका अनुसार अझै ४ जना सम्पर्कविहीन रहेका छन् । ७५ वर्षीय फडके पहरी,५५ वर्षीय काले पहरी, ५४ वर्षीया झ्याउकिरी पहरी र २३ वर्षीया विन्दा पहरी सम्पर्कविहीन छन् । पहिरोले ५ वटा घर बगाएको छ । सम्पर्कविहीनहरूको खोजी भइरहेको रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले बताइन् ।