काठमाडौं | आइतबार बिहान ६:२५ बजे गंगालाल अस्पतालको गेटअगाडि चिया बेच्न बसेका एक व्यक्तिलाई काठमाडौं महानगरपालिकाको प्रहरीले नियन्त्रणमा लिएको छ। चिया बेच्न आएका ती व्यक्तिलाई प्रहरीले लछारपछार गरेको छ।
महानगर प्रहरीका अनुसार स्थानीयहरूको गुनासोका आधारमा प्रहरीले चिया बेच्न आएका व्यक्तिलाई नियन्त्रणमा लिनु परेको हो। प्रहरी प्रमुख पूर्णचन्द्र भट्टका अनुसार चियाका कपहरू अनियन्त्रित रूपमा फाल्दा फोहोर बढेको भन्दै स्थानीय बासिन्दाहरूले बारम्बार गुनासो गरेका थिए। उनले भने, “हामीले पटक-पटक फोहोर नगर्न अनुरोध गर्दा पनि मानेनन्, त्यसैले कारबाही गर्न बाध्य भयौं।”
घटनाको क्रममा ती व्यक्तिले दुई महानगर प्रहरीमाथि जाइलागेको दाबी भट्टले गरे। “नियन्त्रणको क्रममा ती व्यक्तिले दुई प्रहरीमाथि हातपात गरे, जसमा एक प्रहरीको पोशाकसमेत च्यातियो,” उनले थपे।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओमा प्रहरीलाई बदनाम गर्ने प्रयास भएको भट्टको आरोप छ। भिडिओमा प्रहरीले ती व्यक्तिलाई भ्यानमा बसाउन खोजेको मात्रै देखाइएको र वास्तविक घटनालाई तोडमोड गरिएको दाबी गरिएको छ।
महानगर प्रहरीले चिया बिक्री गर्ने व्यक्तिको नाम खुलाएको छैन भने उनलाई जरिवाना शाखामा लैजाने तयारी भइरहेको जानकारी दिएको छ।