काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कार्यालयहरूमा खाजा समय घटाउन निर्देशन दिएका छन्। आफ्नो फेसबुक पेजमार्फत प्रधानमन्त्री ओलीले कर्मचारीहरूको लामो खाजा समयले सेवाग्राहीलाई असर परेको गुनासो आएको उल्लेख गर्दै यो निर्णय गरेको जानकारी दिएका छन्।
प्रधानमन्त्रीको भनाइमा “खाजा पनि खानु पर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनु हुँदैन।” उनले केही कार्यालयहरूमा एक घण्टासम्म खाजा समय लिने गरेको पाइएको र अब यसलाई घटाएर दिनको १:३० देखि २:०० बजेसम्म मात्र कायम गरिएको जानकारी दिए।
प्रधानमन्त्री ओलीले यो नियम उल्लंघन गरेको पाइएमा नागरिकहरूलाई हेलो सरकार मार्फत उजुरी गर्न आग्रह समेत गरेका छन्। यो कदमले सरकारी कार्यालयहरूमा सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।