हेटौँडा | गत ११ र १२ असोजको अविरल वर्षापछि आएको बाढीपहिरोले विभिन्न स्थानमा क्षति पुर्याएपछि अवरुद्ध रहेको हेटौँडा–कुलेखानी–फाखेल–हुमाने हुँदै काठमाडौं जोड्ने सडक आइतबार दिउँसोबाट सञ्चालनमा आउने भएको छ।
यस सडकखण्डअन्तर्गत कुलेखानी ड्याममुनि डाइभर्सन निर्माण र महालक्ष्मी खोलाले भत्काएको बाटो मर्मत भएपछि आइतबारबाट सवारीसाधन सञ्चालन हुने जिल्ला प्रसाशन कार्यालय मकवानपुरका प्रमुख तीर्थराज चिलुवाल जानाकरी दिए ।
प्रमुख तीर्थराज चिलुवालले फाखेल सडकखण्डमा भएका अवरोध पन्छाउने क्रम अन्तिम चरणमा रहेकाले भोलि आइतबार दिउसोबाट सडक सञ्चालन आउने बताए।

कुलेखानी ड्याममुनिको पुलको पहुँच मार्ग भत्किएकोभन्दा केही तलबाट डाइभर्सन निर्माण गरिएको छ । शनिबार रातिसम्ममा डाइभर्सनको काम पूर्ण रूपमा सकिने चिलावानाले बताए ।
यस्तै, माहालक्ष्मी खोलाले बगाएको सडकको सबै ठाउँमा आवश्यकताअनुसार मर्मत र अप्ठ्यारो ठाउँहरूमा डाइभर्सन बनाएर बाटो क्लियर गरेको उनको भनाइ छ।
फाखेल सडक भएर शनिबार केही मोटसाइकलहरू सञ्चालनमा आएका छन् भने उक्त सडकखण्डमा फसेका सवारीसाधानहरू समेत गन्तव्यतर्फ लागेका छन्।
यता, कुलेखानी सिस्नेरीतर्फको सडक सञ्चालनका लागि भने सोमबारसम्मै कुर्नुपर्ने देखिएको छ । उक्त सडकखण्डमा बाढीले सडक बगाएका ठाउँमा तत्काल बाटो निर्माण गर्न नसकिने भएपछि खोलाको बाटो भएर सवारीसाधान सञ्चालनको व्यवस्था मिलाउने काम भइरहेको प्रमुख जिल्ला अधिकारी चिलावानाले जानकारी दिए।
कुलेखानी–फाखेल र कुलेखानी–सिस्नेरी सडक खण्डमा भइरहेको काम र यातायात सञ्चालको पूर्वतयारीका विषयमा बुझ्न शनिबार बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री अमन मास्के, मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थप्रसाद चिलुवाल, मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्का, सशस्त्र प्रहरी बल नं. १४ का गणपति ज्ञान प्रसाद भुर्तेल लगायतको टोली निरीक्षणको लागि फाखेल महालक्ष्मी पुगेको थियो।

सोही क्रममा सञ्चारकर्मीहरूसँगको कुराकानी गर्दै बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री अमन मास्केले सडक निर्माण कार्यमा जोडतोडले लाग्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएको समेत बताए। उनले दशैंको समयमा यात्रुहरूको सुविधालाई ध्यानमा राखी सडक मर्मत र सञ्चालनमा विशेष जोड दिइएको उल्लेख गरे।
उनका अनुसार, ठाउँ-ठाउँमा डाइभर्सन गराएर बाटो सञ्चालन गर्ने प्रयास भइरहेको र उक्त (हेटौँडा–कुलेखानी–फाखेल–हुमाने) सडक खण्ड भने भोलिसम्म सञ्चालनमा आउने जानकारी दिए। मन्त्री मास्केले अन्य सडक खण्डहरू पनि छिट्टै सञ्चालनमा ल्याइने आश्वासन दिए।



