समाजहेटौंडामा सम्पन्न विशेष प्रदर्शनी: लैङ्गिक पहिचान र सांस्कृतिक चेतनाको रंगीन झल्को

हेटौंडामा सम्पन्न विशेष प्रदर्शनी: लैङ्गिक पहिचान र सांस्कृतिक चेतनाको रंगीन झल्को

हेटौँडा |  हेटौंडाको ओम्यास हलमा लैङ्गिक विविधता र सांस्कृतिक चेतनालाई उजागर गर्ने ‘अजिमा र ६ प्रकारका लैङ्गिक पहिचान’ विशेष प्रदर्शनी सोमबार भएको थियो । संविधान सभा सदस्य सुनिल बाबु पन्तद्वारा निर्देशित यस प्रदर्शनीमा नेपाली समाजका विविध लैङ्गिक पहिचान र काठमाडौं उपत्यकाका ऐतिहासिक कथाहरू प्रस्तुत गरिए।

प्रदर्शनीमा काठमाडौंका ऐतिहासिक देवता अजिमा र तिनसँग जोडिएका विभिन्न कथाहरू तथा संस्कृतिलाई उजागर गरिएको थियो। निर्देशक तथा नेपालका पहिलो समलिङ्गी सभासद् सुनिल बाबु पन्तले समाजमा विद्यमान लैङ्गिक विविधतालाई प्रस्तुत गर्ने अवसरका रूपमा यस प्रदर्शनीलाई हेर्न आग्रह गरे। पन्तले भने, “समाजमा रहेका विविध लैङ्गिक पहिचानलाई बुझ्न र स्वीकार गर्न हामीले अझै धेरै प्रयास गर्नुपर्नेछ। यो प्रदर्शनीले हामीलाई उक्त विविधतालाई आत्मसात गर्न सहयोग पुर्याउनेछ।”

प्रदर्शनीमा हेटौँडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामा, मकवानपुरगढी गाउँपालिकाकी उपप्रमुख मान कुमारी पाख्रिन, र पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मनिराज गौतमलगायतका अतिथिहरूको उपस्थिति थियो। मेयर लामा र उपप्रमुख पाख्रिनले यस्तो सांस्कृतिक पहललाई महत्वपूर्ण ठहर गर्दै समाजमा विविधता र समावेशी सोचलाई प्रोत्साहन गर्ने काम गरेकोमा प्रदर्शनीलाई सराहना गरे।

प्रदर्शनीको मुख्य आकर्षण अजिमा र तिनसँग जोडिएका ऐतिहासिक कथाहरू हुन्, जसमा काठमाडौं उपत्यकामा मनाइने इन्द्रजात्रा, मनमैजु अजिमाको पूजाआजा, र उनीसँग सम्बन्धित किंवदन्तीहरू समावेश छन्। पन्तद्वारा निर्देशित वृत्तचित्रले इन्टरसेक्स, तेस्रो लिङ्गी, समलिङ्गी, र अन्य लैङ्गिक पहिचानहरूको परिप्रेक्ष्यलाई दर्शाउँछ, जसले नेपाली समाजमा विविधतालाई स्वीकार गर्ने मञ्चको रूपमा काम गरेको छ।

प्रदर्शनीमा पन्तले महर्जन समुदायका एक धामी रविन महर्जनसँग गरेको अन्तर्वार्तासमेत समेटिएको छ। महर्जनले आफ्नो पारिवारिक परम्परामा अजिमाको धामी बस्ने चलन रहेको र यसमा केही धार्मिक नियमहरू पालना गरिनुपर्ने बताए। उनका अनुसार, अजिमाको धामी बस्न कपाल काट्न र दारी पाल्न नहुने र रात परेपछि काठमाडौं उपत्यकाबाहिर बास बस्न नपाइने धार्मिक नियमहरू छन्।

पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मनिराज गौतमले काठमाडौँको मन्दिर परम्परासँग सम्बन्धित यस प्रदर्शनीले स्थानीय समुदायलाई आफ्नो सांस्कृतिक सम्पदाको सम्मान गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरे। गौतमले भने, “काठमाडौँ उपत्यकालाई मन्दिरहरूको सहर भनेर चिनिन्छ, र यस्ता प्रदर्शनीहरूले हामीलाई हाम्रो सांस्कृतिक र धार्मिक विविधतालाई अझ राम्रोसँग बुझ्न र भोलिको पुस्तालाई थप ज्ञान हस्तान्तरण गर्न प्रेरित गर्दछ।”

‘अजिमा र ६ प्रकारका लैङ्गिक पहिचान’ प्रदर्शनीले नेपाली समाजको विविध सांस्कृतिक तथा लैङ्गिक पहिचानलाई एकीकृत गर्दै समाजलाई अझ समावेशी र सहिष्णु बनाउने उद्देश्य राखेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img