देशकोशी प्रदेशमुन्धुम पदमार्गलाई पर्यटनको 'भर्जिन' गन्तव्य बनाउन अनुगमन

मुन्धुम पदमार्गलाई पर्यटनको ‘भर्जिन’ गन्तव्य बनाउन अनुगमन

भोजपुर। भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ३५ जनाको टोलीसहित मुन्धुम पदमार्गको अनुगमन पदयात्रा गरेको छ। टोलीमा जनप्रतिनिधि, कर्मचारी, पत्रकार, र पर्यटन व्यवसायीहरू सहभागी थिए। पदयात्रा कात्तिक ४ गते चखेवाबाट शुरू भई कात्तिक ९ गते सम्पन्न भएको हो।

६ दिनको यस यात्रामा सहभागी टोलीले समुद्री सतहबाट ४ हजार १५४ मिटरको उचाइमा रहेको साल्पा सिलिचुङ शिखरमा सफलता पूर्वक आरोहण गरेका थिए। ‘कृषि, पर्यटन र सांस्कृतिक पूर्वाधार: टेम्केमैयुङ विकासको आधार’ नाराका साथ गाउँपालिका पर्यटन प्रवर्द्धनमा अघि बढिरहेको छ।

पदयात्रा कार्यक्रमले मुन्धुम ट्रेललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने र यस क्षेत्रका पर्यटन पूर्वाधारमा कमी–कमजोरी सुधार्न सहयोग पुग्ने जनाइएको छ। कार्यक्रम संयोजक तथा पर्यटन व्यवसायी विवेक किरातीले पदयात्रा अनुगमनले मुन्धुम ट्रेलको प्रवर्द्धनलाई बल दिने विश्वास व्यक्त गरे।

गाउँपालिका अध्यक्ष सरोज बस्नेतका अनुसार अनुगमनले पदमार्गमा सुधारका लागि आवश्यक पहललाई थप ऊर्जा दिनेछ। अनुगमनका क्रममा देखिएका समस्या समाधान गर्न पालिकाले तत्काल पहल गर्ने प्रतिबद्धता पनि जनाएका छन्।

यस पदयात्रा दौरान स्थानीय कलाकृतिको संरक्षण, सूचना बोर्डहरू, खानेपानी र शौचालय लगायतका संरचनाहरूको विकासलाई प्राथमिकता दिइने जानकारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकेन पौडेलले दिए।

पर्यटकको सुविधाका लागि चखेवामा निर्माण भइरहेको पर्यटन सूचना केन्द्रको कार्य अन्तिम चरणमा रहेको उपाध्यक्ष रमा देवी राईले जानकारी गराइन्। उक्त केन्द्रले पर्यटकहरूलाई मार्गनिर्देशन, सूचना र अन्य सेवा सुविधा उपलब्ध गराउनेछ।

टेम्केमैयुङ गाउँपालिकाले स्वीस सरकार तथा प्रदेश र संघ सरकारको सहयोगमा मुन्धुम ट्रेलको विकासका लागि  एक करोड ९० लाख ५० हजार लगानी गरेको छ। मुन्धुम ट्रेललाई ‘भ्रमण वर्ष २०२५’ अन्तर्गत एक लाख पर्यटक भित्र्याउने लक्ष्यसहित प्रवर्द्धन गरिंदैछ।

मुन्धुम ट्रेलमा सगरमाथा, कञ्चनजङ्घा, मकालु र ल्होत्से लगायतका छवटा हिमालको दृश्यावलोकन गर्न सकिन्छ। खोटाङ, भोजपुर, सोलुखुम्बु र संखुवासभा जिल्लाका सीमामा पर्ने यो क्षेत्र नेपाल सरकारले घुम्नैपर्ने १०० पर्यटकीय गन्तव्यमा सूचीकृत गरेको थियो।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img