Thursday, December 5, 2024
समाजमकवानपुरगढी दरबारमा हरिबोधनी एकादशीको भव्य मेला, भक्तजनहरूको भिड

मकवानपुरगढी दरबारमा हरिबोधनी एकादशीको भव्य मेला, भक्तजनहरूको भिड

हेटौँडा | विहान ५ बज्नै लाग्दा मकवानपुरगढी गाउँपालिका-२ को गढी दरबारपरिसरमा चहलपहल सुरु भइसकेको थियो । चारैतिर धुपको मन्द सुवास र भजनको आवाजले वातावरणलाई शान्त र पवित्र बनाएको थियो ।

मकवानपुरगढीको ऐतिहासिक दरबार, जहाँ वंशगोपालको मन्दिर छ, वर्षभरि केही ओझेलमा परेझैं देखिए पनि हरिबोधिनी एकादशीका दिन भने उक्त धार्मिकस्थलमा जनजनको भिड लाग्ने गरेको छ । आज त्यस्तै भयो । एकादशीको अवसरमा मकवानपुर गढीमा मेला पनि लाग्ने गरको छ । मेलामा सहभागी हुन स्थानीय गाउँदेखि हेटौंडा बजारसम्मका भक्तजन विहानदेखि भेला भएका थिए । तर, मेला केवल मकवानपुरमा सीमित नरहेर भारतबाट समेत भक्तजन आएको  बताउँछन् वडा नम्बर-२ का अध्यक्ष बखानसिं पाख्रिन ।

makwanpurgadhi mela

उनका अनुसार मकवानपुरगढी दरबारपरिसरमा जात्रामा मकवानपुरको आमभञ्ज्याङ, सुकौरा, बुढीचौर, हेटौंडा, हटिया, हर्नामाडी, बकैया, ठिंगनलगायत छिमेकी जिल्लाहरुबाट समेत भक्तजनहरु आउने गरेका छन् । व्रतालु र जात्रा अवलोकन गर्न आउनेहरुका लागि व्यवस्थितढंगले पूजा गर्न सहजताका लागि स्वयम्सेवक खटाइएको वडा अध्यक्ष पाख्रिनले बताए । जात्रामा स्थानीय उत्पादनको प्रदर्शनी एवम् व्यापार प्रवद्र्धनका लागि विभिन्न स्टलसमेत राखिएको उनले जानकारी दिए । जात्रामा शान्तिसुरक्षाका लागि प्रहरीसँग समन्वय गरिएको उनको भनाइ छ । एकादशी जात्रामा गत वर्षको भन्दा यस वर्ष बढी भक्तजनको उपस्थिति रहेको बताइएको छ ।

मेला व्यवस्थापनमा अध्यक्ष पाख्रिन निकै सक्रिय देखिए । “यो हाम्रो ऐतिहासिक गढी हो, यसलाई पुनर्जीवित गर्ने अवसर हो,” उनले बताए । वडा कार्यालय र प्रहरीको समन्वयमा सुरक्षा र व्यवस्थापनका विशेष व्यवस्था गरिएको थियो । मेला अवधिभर कुनै अप्रिय घटना नहोस् भन्नाका लागि प्रहरीको सहयोगमा मेला व्यवस्थापन सहज बनाइएको थियो । मेलामा मद्यपान र मासुजन्य वस्तु किनबेच निषेध गरिएको थियो । “याहाँ आउने सबैको ध्यान धार्मिक आस्था र स“स्कृतिमा रहोस् भन्ने हाम्रो चाहना हो,” अध्यक्ष पाख्रिनले भने । यस नियमले मेलालाई अझ शान्त र पवित्र बनाएको थियो ।

मेलामा गाउँपालिका अध्यक्ष दोर्जे लामास्यांतान, उपाध्यक्ष मानकुमारी पाख्रिन र अन्य जनप्रतिनिधि तथा कर्मचारीको उपस्थिति रह्यो । पालिका उपाध्यक्ष पाख्रिनले मेलामा सहभागी हुँदै उक्त पर्वले मकवानपुरको सँस्कृतिक विविधतालाई सम्मान गर्ने अवसर प्रदान गरेको बताइन् । उपाध्यक्ष पाख्रिनका अनुसार पाँच हजारभन्दा बढी भक्तजनले मन्दिर दर्शन गरेका छन् ।”हाम्रो क्षेत्रको मौलिक परम्परा र सँस्कृति जगेर्ना गर्दै मेलाले नयाँ पुस्तालाई आफ्नो मौलिकतालाई जीवन्त राख्न प्रेरित गर्छ,” उपाध्यक्ष पाख्रिनले भनिन् ।

मकवानपुरगढीको मेला एक दिनमात्रको उत्सव नभएर ऐतिहासिक र साँस्कृतिक सम्पदाको पुनरुत्थान हो । याहाँ हरेक वर्ष लाग्ने मेला स्थानीयका लागि आफ्नो पहिचानको स्रोत बनेको छ । हरिबोधिनी एकादशीको विशेष मेलाले मकवानपुरको साँस्कृतिक र धार्मिक जीवनलाई पुनः एकपटक ताजा बनाएको छ ।

भीमफेदी र थाहामा पनि
भीमफेदी गाउँपालिका वडा नम्बर-१ स्थित त्रिखण्डेश्वर महादेव मन्दिरपरिसर र थाहा नगरपालिका वडा नम्बर-४ को ऋषेश्वर मन्दिरमा पनि मेलाको रौनक छाएको थियो । यी स्थलहरु त्रिभूवन राजपथको किनारमा पर्ने भएकाले भक्तजनको भिडले सडक यातायातमा पनि केही अवरोध पुर्‍यायो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले त्याहाँ पनि सुरक्षाकर्मी परिचालन गरेर मेलालाई सुरक्षित र व्यवस्थित बनाएको थियो । ती मन्दिरमा पूजा गर्न र रमाउन मकवानपुरलगायत छिमेकी जिल्ला चितवन, बारा, पर्साका मानिसहरु पनि आएका छन् । भीमफेदी गाउँपालिका वडा नम्बर-४, गोल्पिङ र भीमफेदी-७, कोगटेमा पनि मेला तथा जात्रा लागेको छ ।

चार महिनासम्म विष्णुभक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा दामोदरसँग विवाह गरिएको छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजाआराधना गर्ने शास्त्रीय विधि छ ।

प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व मनाइएको हो । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युझने भएकाले हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ ।

हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिंगारी फूलमालाले सजाएर विवाह गरिएको छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठनजिक विष्णुको प्रतीकका रुपमा निगालाको लिंग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img