मकवानपुर | मकवानपुरको मनहरी गाउँपालिका–५ वसन्तपुरमा वृद्धा कान्छीमाया रुम्बालाई आइतबार साँझ आक्रमण गरी ज्यान लिने बघिनीलाई अन्ततः नियन्त्रणमा लिइएको छ।
पर्सा वन्यजन्तु आरक्षणको सुरक्षा टोली, चितवन राष्ट्रिय निकुञ्जका प्राविधिक र मनहरी गाउँपालिका–३ लामिटार बेसबाट खटिएको नेपाली सेनाको विशेष टोलीले बाघलाई खोजी गरी मङ्गलबार साँझ नियन्त्रणमा लिएको हो। चार वटा हात्तीको सहयोग र डार्ट प्रविधिको प्रयोग गरी बघिनीलाई सुकौरा खोलामा फेला पारिएको थियो।
पर्सा वन्यजन्तु आरक्षण र चितवन निकुञ्जको सहकार्यमा लामो प्रयासपछि बघिनीलाई नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो।
बघिनीलाई नियन्त्रणमा लिन ठूलो टोली परिचालन गरिएको थियो। सोमबारदेखि सुरु भएको खोजी अभियान अन्तर्गत चारजना प्राविधिकसहितको टोली, नेपाली सेना, र आरक्षणका कर्मचारी खटिएका थिए। आक्रमणकारी बघिनीलाई अहिले पर्सा राष्ट्रिय निकुञ्जमा पठाइएको छ।
आक्रमणमा परेकी वृद्धा रुम्बाको घटनाले स्थानीय क्षेत्रमा त्रास फैलिएको थियो। अब भने बघिनीको नियन्त्रणले स्थानीयले राहत महसुस गरेका छन्।