पोखरा | सहकारी खोली ठगीको आरोपमा गीतेन्द्रबाबु (जिबी) राईको राहदानी रोक्का गरिएको छ। कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले शुक्रबार राईको राहदानी रोक्का गर्ने आदेश जारी गरेको हो।
राईमाथि सहकारी खोली बचत र सेयर रकम दुरुपयोग गरी गैरकानुनी रुपमा ठगी गरेको गम्भीर आरोप छ। कास्कीको सूर्यदर्शन सहकारीका पूर्व अध्यक्ष समेत रहेका राईले देशभर दर्जनौं सहकारी र कम्पनी खोली ६५ करोडभन्दा बढी रकम अपचलन गरेको अभियोग लागेको छ।
२०८० साउनसम्म सम्पर्कमा रहेका राई कास्कीमा मुद्दा दर्ता भएपछि फरार छन्। राईविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीको पहलमा राहदानी विभागले उनको पासपोर्ट रोक्का गर्न आदेश दिएको थियो।
यसैबीच, गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित ६३ जनाविरुद्ध ठगी मुद्दा विचाराधीन छ। लामिछाने कास्की प्रहरीको हिरासतमा रहँदा खिचिएको तस्बिर सार्वजनिक गर्ने कमल भुसाल (डा. निकोलस भुसाल) लाई अदालतले धरौटीमा रिहा गरेको छ।
जिल्ला अदालत कास्कीका न्यायाधीश शंकरबहादुर राईको इजलासले भुसाललाई ५० हजार धरौटीमा छाड्न आदेश दिएको हो। भुसाललाई साइबर अपराध कसुरमा बिहीबार पक्राउ गरी शुक्रबार अदालतमा पेश गरिएको थियो। यसअघि उनलाई पुस ७ गते काठमाडौंबाट नियन्त्रणमा लिई पोखरा ल्याइएको थियो।