हेटौँडा | हेटौँडामा यही फागुन ६ गतेदेखि १८ गतेसम्म दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव हुने भएको छ। नेपाल निर्माण व्यवसायी महासंघ र निर्माण व्यवसायी संघ मकवानपुरको संयुक्त आयोजनामा हुन लागेको महोत्सवबारे जानकारी दिंदै निर्माण व्यवसायी संघका अध्यक्ष बालगोपाल कंडेलले संघको भवन निर्माणका लागि आर्थिक संकलन गर्ने उद्देश्यसहित महोत्सवको आयोजना गर्न लागिएको बताए ।
१० वर्षपछि दोस्रोपटक आयोजना गर्न लागिएको यो महोत्सवबाट संकलित रकम जिल्लाका सामूहिक कार्यक्रमहरूमा योगदान पुर्याउन र संघलाई थप दरिलो बनाउन प्रयोग गरिने उनले बताए। अध्यक्ष कंडेलले सर्वसाधारणलाई समेत नवप्रवर्तनकारी निर्माण प्रविधिहरूबारे जानकारी दिन तथा गुणस्तरीय र किफायती सामग्री उपलब्ध गराउन महोत्सव महत्त्वपूर्ण रहने बताए । तर, केवल निर्माण उपकरणको प्रदर्शनी गर्दा सर्वसाधारणको आकर्षण कम हुनसक्ने भएकाले मनोरञ्जन तथा विभिन्न प्रकारका सामग्रीहरू समेत मेलामा समावेश गरिएको उनले जानकारी गराए।
स्थानीय उत्पादन प्रवर्द्धन, ३५० स्टल रहने
संघ महासचिव राजेन्द्र चौलागाईंका अनुसार महोत्सवमा ३५० स्टल रहने छन्, जसमा नवीनतम निर्माण उपकरण, निर्माण सामग्री, औद्योगिक उत्पादन, स्थानीय उत्पादन, हस्तकला सामग्री, महिलाद्वारा उत्पादित सामग्रीहरू प्रदर्शनी तथा बिक्री वितरण गरिनेछ। मकवानपुरका उद्योगी तथा व्यापारीहरूलाई स्टलमा ५० प्रतिशतसम्म छुट दिइने अध्यक्ष कंडेलले जानकारी दिए।
संघ वरिष्ठ उपाध्यक्ष सागर कटुवालका अनुसार महोत्सवले निर्माण सामग्री उत्पादक, बिक्रेता तथा उपभोक्ताबीच समन्वय कायम गर्नेछ। साथै, उत्पादित वस्तुको बजार प्रवर्द्धन, गुणस्तरीय प्रतिस्पर्धाको विकास, निर्माण व्यवसायीहरूबीच अन्तरक्रिया तथा चुनौतीबारे छलफलको अवसर मिलाउने उद्देश्य राखिएको छ।
महोत्सवमा गायन क्षेत्रको प्रवर्द्धन गर्दै ‘हेटौँडा आइडल’ प्रतियोगिता समेत आयोजना गरिने भएको छ। मकवानपुरका प्रतिभाहरूलाई प्रस्तुत गर्ने अवसर मिलाउन तथा दर्शकलाई मनोरञ्जन दिन विविध सांस्कृतिक कार्यक्रमहरू हुने अध्यक्ष कंडेलले बताए।
२०७१ सालमा आयोजित पहिलो महोत्सवपछि १० वर्षपछि दोस्रो संस्करण आयोजना गर्न लागिएको हो। महोत्सव सफलतापूर्वक सम्पन्न गराउन २५१ सदस्यीय मूल समारोह समिति तथा ११ सदस्यीय स्टेरिङ कमिटी गठन भइसकेको संघ कार्यालय प्रमुख सुन्दर घिमिरेले जानकारी दिए।