Thursday, February 6, 2025
विचार/ब्लगसेल्समेन किन पहिलो रोजाई बन्दैन ?

सेल्समेन किन पहिलो रोजाई बन्दैन ?

  • बिक्रम खतिवडा

    नेपालमा उच्च आम्दानीको सम्भावना रहेको एउटा महत्त्वपूर्ण पेशा भनेको बिक्रि प्रतिनिधि (सेल्समेन) हो। तर, यो पेशा पहिलो रोजाइ बन्न सकेको छैन। विभिन्न अवसरमा विद्यार्थीहरूसँग कुराकानी गर्दा प्रायः उनीहरू डाक्टर, नर्स, इन्जिनियर, वकिल, सेना, प्रहरी, निजामति सेवा, पत्रकारिता, बैंकिङजस्ता पेशाहरूको सपना देख्छन्। तर, निकै कम विद्यार्थीहरूले आफू सेल्समेन बन्न चाहेको बताउँछन्। आखिर किन सेल्समेन पेशा उत्कृष्ट हुँदाहुँदै पनि धेरैको पहिलो रोजाइमा पर्दैन?

    हाम्रो समाजमा सफलता प्राप्त गर्ने छोटो र सरल बाटो खोज्ने प्रवृत्ति हावी छ। सेल्समेन पेशा भने ग्राहकहरूसँग प्रत्यक्ष सम्पर्कमा रहने, उत्पादक र उपभोक्ताबीचको महत्त्वपूर्ण कडी बन्ने, तथा परिणाममुखी भएर काम गर्ने पेशा हो। यो पेशामा लगनशीलता र धैर्यता आवश्यक पर्ने भएकाले धेरैले यसलाई कठिन विकल्प ठान्छन्।

    हाम्रो समाजमा सेल्समेनलाई केवल बजारमा सामान बेच्ने मान्छे मात्र ठान्ने गलत धारणा छ। वास्तविकता भने फरक छ। विकसित मुलुकहरूमा मात्र नभई नेपालमै पनि उत्कृष्ट बिक्रि प्रतिनिधिहरू उच्च व्यवस्थापकिय नेतृत्व तहसम्म पुगिसकेका छन्। धेरैजसो व्यापारिक संस्थाहरूका प्रमुख कार्यकारी अधिकृत (CEO) नै कुनै समय उत्कृष्ट सेल्समेन थिए। एक कुशल सेल्समेन भएकाले व्यापार व्यवसायमा सफलता प्राप्त गर्न सहज हुन्छ। साथै, अन्य पेशाको तुलनामा सेल्समेन पेशामा भविष्य सुरक्षित रहन्छ।

    नेपाल तथा विश्व बजारमा सेल्समेनको माग सधैं उच्च नै रहनेछ। तर, हाम्रो समाजमा यो पेशालाई अझै पनि अस्वीकार्य पेशाका रूपमा लिने प्रवृत्ति छ। अधिकांश व्यक्तिहरू जब अन्य पेशाहरूमा सफलता हात पार्न असफल हुन्छन्, तब बल्ल सेल्समेन बन्ने सोच बनाउँछन्। विद्यालय तथा कलेजस्तरबाटै यस पेशाको महत्त्वबारे जानकारी दिइने हो भने आवश्यक जनशक्ति तयार हुनेछ, जसले स्वदेश तथा विदेशमा अवसर पाउन सक्नेछन्। सेल्स पेशामा रमाउने व्यक्तिहरूले अन्य पेशाको तुलनामा यसलाई अझ उत्कृष्ट ठान्ने गर्छन्।

    एक उत्कृष्ट सेल्समेनले नेपालमै बसेर पनि राम्रो आम्दानी गर्न सक्छ। ईमानदार, परिश्रमी, र लगनशील भएर काम गर्ने हो भने केही वर्षमै तलब तथा सुविधाहरू दोब्बर हुन सक्छ। नेपालमा नै सेल्समेन पेशाबाट महिनाको लाख रुपैयाँ आम्दानी गर्न सम्भव छ, जुन अन्य सामान्य जागिरबाट कठिन हुन्छ।

    तर, यस पेशामा चुनौतीहरू पनि उत्तिकै छन्। सेल्समेनको काम केवल झोला बोकेर सामान बेच्ने मात्र होइन, निरन्तर लक्ष्य (टार्गेट) पूरा गर्ने जिम्मेवारीसमेत बोकेको हुन्छ। प्रायः नेपाली बजारमा अघिल्लो वर्षको लक्ष्यभन्दा २०-३० प्रतिशत बढी बिक्री गर्नुपर्ने दबाब हुन्छ। लक्ष्य प्राप्त गर्न योजनाबद्ध रूपमा काम गर्न नसकिए, भने सफलता प्राप्त गर्न कठिन हुन्छ। प्रतिस्पर्धात्मक बजारमा टिक्न, व्यवस्थापन पक्ष र व्यवसायी दुवैको विश्वास जित्न सक्नुपर्छ। कुनै एक पक्षलाई मात्र प्राथमिकता दिएमा, परिणाममुखी काम गर्न कठिन हुन सक्छ।

    नेपाल तथा अन्तर्राष्ट्रिय बजारमा सेल्समेनको माग उच्च छ। केही निजी क्षेत्रले यसको प्रवद्र्धन गर्न थालिसकेका छन्, तर यो पर्याप्त छैन। विद्यालय तथा कलेजस्तरबाटै व्यवसायिक सोच र सीप प्रदान गर्न सके, नेपालमै बसेर पनि सेल्समेन पेशाबाट उत्कृष्ट करिअर बनाउन सकिन्छ। सरकारले पनि गुणस्तरीय जनशक्ति उत्पादनमा ध्यान दिन सके, हाम्रो देशका नागरिकहरूले न्यून पारिश्रमिक र निम्नस्तरका काम गर्न विदेश जानुपर्ने स्थिति अन्त्य हुन सक्छ।

    आजको प्रतिस्पर्धात्मक बजारमा उत्कृष्ट सेल्समेनको माग उच्च छ, तर हाम्रो समाजमा यो पेशा अझै पहिलो प्राथमिकतामा पर्न सकेको छैन। सेल्समेन पेशा सिर्जनात्मकता, सम्बन्ध निर्माण, तथा व्यवसायिक सफलतासँग प्रत्यक्ष रूपमा जोडिएको छ। धैर्यता, आत्मविश्वास, र लगनशीलता भएका व्यक्तिहरूका लागि यो पेशा उत्कृष्ट रोजगारीको अवसर मात्र नभई आर्थिक तथा व्यवसायिक सफलताको बलियो आधारसमेत बन्न सक्छ।

    अब सोच बदलौं— सेल्समेन अस्वीकार्य पेशा होइन, सफलता प्राप्त गर्ने अवसर हो।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस