काठमाडौं | भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भ मेलाबाट फर्किने क्रममा बिहारको मुजफ्फरपुरमा जिप दुर्घटना हुँदा एकै परिवारका पाँच नेपालीको मृत्यु भएको छ। दुर्घटनामा चार जना गम्भीर घाइते भएका छन्।
शनिबार दिउँसो मधुबनी मन्दिर नजिकै दुर्घटना भएको बीआर ३२ पीए ४६६१ नम्बरको स्कार्पियोमा महोत्तरीको मनरा शिसवा नगरपालिकाका तीर्थयात्रीहरू सवार थिए।
तीव्र गतिमा रहेको जिप अचानक अनियन्त्रित भई पल्टिँदा मन्तरणा देवी, बालकृष्ण झा, अर्चना ठाकुर, इन्दु देवी र चालकको घटनास्थलमै मृत्यु भएको भारतीय सञ्चारमाध्यम दैनिक भाष्करले जनाएको छ।
घाइते हुनेहरूमा मनोहर ठाकुर, कामिनी झा, सृष्टि ठाकुर र एक अन्य व्यक्ति रहेका छन्। उनीहरूको अवस्था गम्भीर रहेको र उपचारका लागि एसकेएमसीएच अस्पताल लगिएको भारतीय प्रहरीले जनाएको छ। घाइतेमध्ये मनोहर ठाकुर नेपाल प्रहरीका जवानसमेत हुन्।
प्राप्त जानकारीअनुसार, मृतकहरू महाकुम्भ स्नान गरेर अयोध्या हुँदै वाराणसी पुगेपछि नेपाल फर्किने क्रममा थिए। प्रत्यक्षदर्शीहरूका अनुसार, तीव्र गतिमा रहेको जिपले एक मोटरसाइकललाई जोगाउने क्रममा नियन्त्रण गुमाउँदा दुर्घटना भएको थियो।
महोत्तरी जिल्ला प्रहरी कार्यालयले घटनाको पुष्टि गर्दै थप विवरण संकलन भइरहेको जनाएको छ। प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जैसवारका अनुसार, घटनाबारे भारतीय प्रहरीसँग समन्वय भइरहेको छ।